१३ असार, काठमाडौँ ।
गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ ले प्रदर्शनको सातौँ हप्ता प्रारम्भ गरेको छ । प्रदर्शनको तीन हप्ता बक्सअफिसमा जबरजस्त व्यापार गरेको फिल्मको कमाई छैटौं हप्तासम्म पनि राम्रो रह्यो ।
प्रदीप भट्टराई निर्देशित सो चलचित्रले प्रदर्शनको छैटौं हप्तासम्म घरेलु बजारबाट साढे ९ करोडको आसपासमा व्यापार गरेको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले जानकारी दिए ।
चलचित्र अहिले ५१ दिने बाटोमा छ । ‘वर्ड अफ माउथ’ बलियो हुँदा त्यसको प्रभाव बक्सअफिसमा परेको हो । अहिले ५१ दिने कार्यक्रम भब्य रुपमा मनाउने तयारी चलिरहेको निर्माता रविन्द्रसिंहले जानकारी दिए । उनी फिल्मको सफलताले हौसलासँगै थप चुनौती र जिम्मेवारी थपिएको बताउँछन् ।
यसलाई समीक्षक र दर्शक दुबैले रुचाए । यो फिल्मको पहिलो पार्टले पनि केही हलहरुमा प्रदर्शनको ५१ दिन मनाएको थियो । ‘जात्रै जात्रा’ अहिले सिंगल थिएटरतर्फ राजधानीको गोपीकृष्ण, गुण र अष्टनारायणमा चलिरहेको छ ।मल्टीप्लेक्सतर्फ क्यूएफएक्स चेन, एफक्यूब र विएसआरमा प्रदर्शनरत छ ।
‘जात्रै जात्रा’ बाट निर्देशक प्रदीपले व्यावसायिक रुपमा सफल फिल्मको रुपमा ह्याट्रिक गरेका छन् । यसअघि उनी निर्देशित दुई फिल्म ‘जात्रा’ र ‘शत्रु गते’ ले हलमा प्रदर्शनको ५१ दिनसँगै बक्सअफिसमा सुपरहिटको व्यापार गरेको थियो ।









