१४ असार, सुनसरी ।
१ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा सडक सभ्यता अभिबृद्धि एवं सवारी दुर्घटना न्यूनीकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धि एक दिने ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको सम्मेलन सम्पन्न भएको छ ।
शुक्रबार कार्यक्रममा समुद्धघाटन गर्दे मुख्यमन्त्री शेरधन राईले नागरिकको जीवन रक्षाको लागि प्रदेशका ६ जिल्लाहरूमा १०–१० किलोमिटर सडक सुशासनको अभ्यास गराउन डिपीआर तयार भइरहेको तथा अहिलेको भद्रगोल र असुरक्षित सडकलाई व्यवस्थित र सुरक्षित बनाइने बताए । उनले सडकको वर्गीकरण गरेर संघ, प्रदेश र स्थानीयतहको जिम्मा लगाइने र त्यसले सवारी आवागमन थप व्यवस्थित हुने बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकार्कीले नागरिक आफै सचेत भएमा दुर्घटना कम हुने बताउँदै प्रदेशको सबै सडक सुशासनयुक्त बनाउने प्रतिवद्धता जनाउँदै प्रदेश सरकारले सडक दुर्घटना न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम अघि बढाइरहेको पनि जानकारी दिए ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रदेश भित्र सवारी दुर्घटनाका कारण सरदर दैनिक १ जनाले ज्यान गुमाउने गरेको बताउँदै सवारी दुर्घटना न्युनिकरणका लागि सबैले ट्राफिक नियमको पालना गर्नु पर्नेमा जोड दिए ।

यस्तै १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भिम दाहालले सडक सुरक्षा, सडक सुशासन र ट्राफिक सम्बन्धी शिक्षालाई जनचेतना कार्यक्रम मार्फत हरेक सडक प्रयोगकर्ताहरु सम्म र्पुयाई सडकलाई थप सुरक्षित एवं अनुशासित बनाउँदै लैजान र दुर्घटना न्युनिकरण गरी जनधनको क्षति कमगर्न ट्राफिक प्रहरी, समुदाय तथा सबै सरोकारवाला निकायहरुको संयुक्त प्रयास अत्यन्त फलदायी हुने बताए ।