१४ असार, काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गांउपालिकाले शनिबार राजधानी काठमाडौमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दे सभापति देउवाले वर्तमान सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुको साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताए ।
उनले जुनसुकै क्षेत्रमा अत्याधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको टिप्पणी गरे । राष्ट्र र प्रजातन्त्रका लागि सबै भन्दा ठूलो अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको आरोप उनले लगाएका छन् ।
सभापति देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोशी गांउपालिकाको निर्णयको स्वागत गरे । कार्यक्रममा भारतीय सांगितिक कार्यक्रम सारेगमप का तेश्रो स्थान हासिल गरेका नेपाली बालक आयुष केसी लगायत विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।