जनताले भात खाएकोमा सरकारको टाउको दुखाइ, ११ महिनामा साढे ३० अर्बभन्दा बढीको चामल भित्रियो

जनताले भात खाएकोमा सरकारको टाउको दुखाइ, ११ महिनामा साढे ३० अर्बभन्दा बढीको चामल भित्रियो

१५ असार, काठमाडौँ ।

 जनताले भात खाएकोमा सरकारले टाउको दुखाएको छ । नेपालीले औसतभन्दा बढी भात खाँदा चामल आयात बढी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्पष्ट पारेको छ । नेपालीको खाने बानीमा परिवर्तन हुन नसक्दा अर्थात भातै खाने प्रवृतिका कारण चामल आयात वर्सेनि बढ्दै गएको हो ।

कृषि क्षेत्रमा उत्पादन बढे पनि जनसंख्याको वृद्धिसँगै चामलको माग बढको र नेपालीको खानामा भातको बढ्दो प्रयोगका कारण चामल आयात गर्नुपरेको मन्त्रालयका सह प्रवक्ता प्रदीपचन्द्र भट्टराईले बताए । हाम्रो उत्पादनले भ्याउन सक्ने अवस्था छैन,’ उनले भने– ‘प्रत्येक वर्ष ६ लाख मेट्रिक टन चामल आयात हुने गरेको छ ।’

साधारण मानिसले प्रतिवर्ष ९० केजी चामल खानु पर्नेमा १४० केजीसम्म खाइरहेको छन् । नेपालमा उत्पादन भएका अन्य खाद्यान्न उपभोगमा खासै उपयोग नहुँदा चामल आयात वर्सेनि बढ्दै गएको छ । हाल मासिक साढे दुई अर्ब रुपैयाँ भन्दा बढीको चामल आयात हुने गरेको छ ।

चालु आवको ११ महिनामा विभिन्न ब्राण्डका ३० अर्ब ५८ करोड रुपैयाँको चामल नेपाल भित्रिएको छ । सरकारले कृषि क्षेत्रमा ठूला लगानी गरेपनि यसबाट उचित प्रतिफल पाउन नसक्दा परनिर्भरता बढ्दो छ । राणा तथा पञ्चायतकालमा भारतमा धान चामल निर्यात गरेर व्यापार सन्तुलन हुने गरेकोमा अहिले धान चामल बढी आयात भएका कारण ब्यापार घाटा चुलिँदो अवस्थामा छ ।

राणाकालमा नेपालबाट चामल निर्यातकै कारण नेपालको भारतसँगको ब्यापार नाफामा थियो । अहिले कुल वैदेशिक व्यापारमा भारतसँगको व्यापार दुई तिहाई रहेको छ । यस बाहेक भारतसँग खुल्ला सीमाना भएको हुँदा ठूलो परिमाणमा धान चामल भन्सार छलेर पनि नेपाल भित्रिने गर्छ ।

चालु आर्थिक वर्षको ११ महिनामा भारतबाटमात्रै आठ खर्ब ४१ अर्बका वस्तु तथा सेवा नेपाल भित्रिएको छ । नेपालमा ठूलो परिमाणमा धान उत्पादन भएपनि चालु आवमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान सरकारले गरेको छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.