१५ असार, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिवी र बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिवी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पनि आग्रह गरेका थिए । ]
उनले गरिवी र बेरोजगारीको सामना प्रतिपक्ष÷सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष कांग्रेस पनि तयार हुनुपर्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आफूले गरेका राम्रा कामको चर्चा नगरिदिए हुने पनि बताए । तर देशका लागि, भोलिका सन्ततिका लागि भने सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
आइतबारबाट काठमााडैंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मैले गरेका राम्रा कामको चर्चा नगर्दा हुने तर सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन भने सबै लाग्नुपर्ने पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले शिक्षालाई जीवन उपयोगी बनाएर मुलुकमा गरिवी अन्त्य गर्ने र रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुक भित्रै रोजगारीको अवसर अधिकतम सृजना गर्न र बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गरिएको स्पष्ट पारे ।