१५ असार, काठमाडौँ ।
चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेल ‘प्रेम गीत ३’ को नायिकाको प्रतीक्षामा रहेका दर्शकको प्रतीक्षाको घडी समाप्त भएको छ । किनभने निर्माण टिमले चलचित्रका लागी फाईनल नाम सार्वजनिक गरेको छ । चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले आइतबार आफ्नो फेसबुकबाट चलचित्रका लागि क्रिष्टिना गुरुङ गीतको भूमिकामा पक्का भएको जानकारी दिएका छन् ।
निर्देशक सेनले फेसबुकमार्फत भनेका छन् ‘थुप्रै सङ्घर्ष र चुनौतीहरू पार गर्दै अमेरिकाबाट नेपाल अडिसनको लागि आएकी क्रिष्टिनाको २७१४ बाट गीतको लागि चयन हुन उनको प्रतिभा, सुन्दरता र आत्मविश्वासको बयान गर्दछ। हामीले उत्कृष्ट २५ को नामावली सार्वजनिक गरेपछि सबैले आ–आफ्नो रोजाइ र चाहना अनुसार ‘तेस्रो गीत यो बन्नुपर्छ’ भनी आफ्नो मत राख्नुभएको थियो । बजारमा विभिन्न नामहरू अगाडी आइरहेका थिए तर हामी भने चलचित्रमा सुहाउँदो पात्रको खोजीमा नै केन्द्रित रह्ययौ ।’

‘प्रेम गीत’ का अघिल्ला भागमा गीतको भूमिकामा पूजा शर्मा र अस्लेशा सिंह ठाकुरीले निभाएका थिए । ‘प्रेम गीत ३’ निर्माण पक्षले गीतको भूमिकाको लागी खुल्ला प्रतिस्पर्धाको लागी आह्वान गरेको थियो । विश्वभरबाट २७१४ जनाले डिजिटल अडिसन दिएका थिए । त्यसबाट उत्कृष्ट २५ जना छानिए जसमा केही परिचित अनुहार थिए त केही नयाँ । ती २५ जनाबाट पनि टप पाँच छानिएका थिए ।
अहिले छानिएकी क्रिस्टिना अमेरिकामा अध्ययनरत छिन् । उनी चलचित्रकै अडिसन दिनका लागि हाल उनी नेपाल आएकी थिइन् । गीतको भूमिकाको लागी नायिका फाइनल भएसँगै चलचित्रको जम्बो टोली खडा भइसकेको छ । चलचित्रलाई सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् । यतिबेलासम्म चलचित्रको लागी प्रदीप खड्का, मनिष राउत, शिव श्रेष्ठ, सन्तोष सेन,सुनिल थापा, अनुभव रेग्मी लगायतका कलाकार पक्का भैसकेका छन् ।











