एजेन्सी, असार १६
जारी आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको आईतबार सम्पन्न खेलमा इंग्ल्यान्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ भने यस शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
यता भारतको भने यो जारी विश्वकपमा पहिलो हार हो । इंग्ल्यान्डले अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गरे सोझैं सेमिफाइनल प्रवेश गर्ने छ । ३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ६ रन बनायो ।
भारतका लागि ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् । ३७ ओभरको पहिलो बलमा क्रिस वोक्सले जस बटलरबाट क्याच आउट गराउनु अघि रोहितले १ सय ९ बलमा १५ चौकाको सहयोगमा १ सय २ रन बनाए पनि भारत पराजित हुन पुग्यो ।
१ सय ६ बलमा रोहितले आफ्नो वान डे करियरको २५ औं तथा जारी विश्वकपमा आफ्नो तेस्रो शतक पुरा गरे । भारतले तेस्रो ओभरको तेस्रो बलमा ओपनर के एल राहुललाई शुन्यमा गुमाएको थियो । राहुललाई क्रिस वोक्सले आफैं क्याच लिदै पेभिलिएन फर्काए ।
दोस्रो विकेटका लागि रोहित र कप्तान विराट कोहलीले १ सय ३८ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इनिङ उकासे । विराटलाई २९ ओभरको दोस्रो बलमा लियाम प्लन्केटले ६६ रनमा क्याच गराए । कोहलीले ७६ बलमा ७ चौका प्रहार गरे ।
प्लन्केटले नै ऋषभ पन्तलाई ३२ रनमा क्रिस वोक्सबाट क्याच आउट गराए । पन्तले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै लियाम प्लन्केटले हार्दिक पान्ड्यालाई ४५ ओभरको पाँचौ बलमा जेम्श भिन्सबाट ३३ बलमा ४ चौका सहित ४५ रनमा पेभिलिएन फर्काएपछि इंग्ल्यान्डको जित पक्का बनेको थियो ।
महेन्द्र सिंह धोनीले ३१ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे । त्यस्तै केदार जाधव पनि १२ रनमा नट आउट रहे । इंग्ल्यान्डका लागि लियाम प्लन्केटले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट हात पारे । क्रिस वोक्सले १० ओभरमा ३ मेडन सहित ५८ रन खर्चेर २ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ओपनर बेयरस्टोले १ सय ११ रनको महत्वपूर्ण योगदान दिए । मोहम्मद शामीको ३२ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा ऋषभ पन्तबाट क्याच आउट हुनुअघि बेयरस्टोले १ सय ९ बलमा १० चौका र ६ छक्का प्रहार गरे ।
बेयरस्टोले ९० बलमा वान डे करियरको ८ औं तथा विश्वपकमा आफ्नो पहिलो शतक पुरा गरेका थिए । अर्का ओपनर जोसन रोयले ५७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६६ रन जोडे । रोय र बेयरस्टोले पहिलो विकेटका लागि २२।१ ओभरमा १ सय ६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कुलदीप यादवको बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै रोयलाई रविन्द्र जडेजाले उत्कृष्ट क्याच गरेपछि इंग्ल्यान्डको शतकीय साझेदारी तोडिएको थियो ।
३४ ओभरका चौथो बलमा केदार जाधवबाट क्याच आउट हुँदै कप्तान इओन मोर्गन १ रनमा पेभिलिएन फर्केपछि इंग्ल्यान्डको रनको गतिमा कमि आएको थियो । जो रुटले ५४ बलमा २ चौका सहित ४४ रनको योगदान दिए ।
मध्यक्रमका बेन स्टोक्सले आक्रमक ब्याटिङ गर्दै ७९ रन जोडेपछि इंग्ल्यान्ड विशाल योगफलमा पुगेको हो । अन्तिम ओभरको चौथो बलमा क्याच आउट हुनुअघि स्टोक्सले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै विकेटकीपर जस बटलरले ८ बलमा १ चौका र २ छक्का सहित २० रनमा क्याच आउट भए । क्रिस वोक्स ७ रनमा क्याच आउट भए ।
भारतका लागि मोहम्मद सामीले १० ओभरमा १ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र कुलदीप यादवको नाममा समान १ विकेट रह्यो ।
यो जितसँगै इंग्ल्यान्ड ८ खेलमा ५ मा जित र ३ मा हारका साथ १० अंक बटुल्दै चौथो स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले निर्णायक खेल जुलाई ३ मा न्युजिल्यान्डसँग खेल्ने छ । भारत ७ खेलमा ५ मा जित र १ मा हारका साथ ११ अंक बटुल्दै दोस्रो स्थानमा छ । भारतले आफ्नो आठौं खेल जुलाई २ मा बंगलादेशसँग खेल्ने छ ।
यता ८ खेलमा ७ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा रहेको अष्टे«लिया सेमिफाइनलमा पुगि सकेको छ ।