१६ असार, काठमाडौं ।
आज (सोमबार)बाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुन : २१ घण्टा सञ्चालन हुने भएको छ। चैत १८ गतेदेखि रन–वे (धावनमार्ग) मर्मतका कारण बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो ।
मुलुकको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या आएपछि चैत्र १८ गतेबाट धावनमार्गको चैतदेखि मर्मत शुरु गरिएको थियो ।
तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ । धवानमार्ग मर्मतको हुँदैगर्दा नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले दैनिक १० घन्टा विमानस्थल बन्द गर्दै आएको थियो।
ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले धावनमार्ग मर्मत ९० दिनमै सम्पन्न गर्यो । उक्त कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो ।
रन–वे पिच परिवर्तनको काम सुरु हुनभन्दा अगाडि विमानस्थल दैनिक बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो। अब पहिलकै समयमा विमानस्थल सञ्चालन हुनेछ ।