‘आईफा अवार्ड’ गर्न स्वीकृति दिएका हौं, पैसा होइन : मन्त्री बाँस्कोटा

‘आईफा अवार्ड’ गर्न स्वीकृति दिएका हौं, पैसा होइन : मन्त्री बाँस्कोटा

१६ असार, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘आईफा अवार्ड’ लाई १ अर्ब दिने कुरामा सत्यता नभएको बताएका छन् । उनले अवार्ड आयोजना गर्ने स्वीकृति मात्र सरकारले दिएको बताए ।

चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले आफूले अवार्डलाई पैसा दिने कुरा नबोलेको र मन्त्रीपरिषद्ले निर्णय पनि गरेको उनले स्पष्ट पारे ।

मन्त्री बाँस्कोटाले आफ्नो भनाई राख्ने क्रममा वास्तविकता नबुझेर बजारको हल्लाको भरमा विरोधमा नउत्रन आग्रह गरे । उनले ‘आईफा अवार्ड’ लाई सरकारले एक अर्ब दिने निर्णय मिडियामा पढेर आफू आश्चर्यचकित भएको बताए ।

मन्त्री बाँस्कोटाले भने ‘न मैले ‘आईफा अवार्ड’ लाई एक अर्ब दिने भन्ने बोलेको छु न त मन्त्रीपरिषद्ले त्यो निर्णय नै गरेको छ । भोलीपल्ट मिडियामा पढ्दा पो म अचम्ममा परेँ । मैले मन्त्रीपरिषद्को निर्णयको पाना पल्टाएर पनि हेरेँ । त्यसमा अवार्ड गर्न स्वीकृति दिने मात्र उल्लेख छ ।

अवार्ड भएको खण्डमा सरकारले व्यवस्थापनतर्फ सहयोग गर्ने उनको भनाई छ । पर्यटन प्रवद्र्धनमा विदेशी अवार्ड नेपालमा आयोजना हुनु सकारात्मक रहेको उनी बताउँछन् ।

बलिउडको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड–२०१९’ (आईफा) को २०औं संस्करणका लागि १ अर्ब दिने सरकारी निर्णयको अहिले चौतर्फी रुपमा आलोचना भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.