एजेन्सी, असार १७
शाहिद कपूर अभिनीत फिल्म ‘कबीर सिंह’ दोस्रो हप्तामा प्रदर्शन भईरहेको छ । बक्सअफिसमा अविश्वसनीय सफलता हासिल गरेको यस फिल्मले दोस्रो हप्ता पनि बम्पर व्यापार गरिरहेको छ ।
हरेक दिन फिल्मले सफलताको नयाँ नयाँ आयाम रच्दै गएको छ । ‘कबीर सिंह ’को सफलताबाट शाहिद पनि निकै खुसी छन् । भारतीय मिडियाका अनुुसार, शाहिदले ‘कबीर सिंह’ ब्लकबस्टर भएपछि आफ्नो पारिश्रमिक दोब्बर बढाउने फैसला गरेका छन् ।
यसअघि उनले एक फिल्ममा १० देखि १२ करोडसम्म पारिश्रमिक लिँदै आएका थिए । हालै उनले एक फिल्मका लागि २१ करोड लिएको चर्चा छ । बलिउड लाइफका अनुसार, ‘कबीर सिंह’ को सफलतापछि इन्डस्ट्रीमा अचानक शाहिदको डिमान्ड बढेको छ । उनलाई कयौं ठूला फिल्म मिल्न थालेको छ ।
यो फिल्म २१ जूनमा रिलिज भएको थियो । फिल्मले हालसम्म १ सय ८० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । यो शाहिदको करिअरको सबैभन्दा ठूलो हिट फिल्म होे । फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी छिन् ।









