१७ असार, काठमाण्डौ ।
त्रिभुवन विश्वविद्यालयका रजिष्टार डिल्लीराम उप्रेतिले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटी भएको बताएका छन् ।
संघीय संसद अन्र्तगत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा रजिष्टार उप्रेतिले हालै संचारमाध्यममा आएका परीक्षा नतिजा सम्बन्धी त्रुटीहरु संस्थागत नभई व्यक्तिगत भएको बताएका हुन् । परीक्षा संञ्चालन देखि नतिजा प्रकाशन सम्म प्रक्रियाहरुको फेयरिस्त प्रस्तुत गर्दै उनले मार्कस्लिपबाट मार्क लेजरमा नम्बर चढाउने समयमा व्यक्तिको त्रुटीका कारण ९ हुनुपर्नेमा ६९ भएको बताए । यद्यपी ६९ अंक पाएका सुरेन्द्र कोइरालाले गोल्डमेडल भने प्राप्त नगरेको उनले स्पष्ट पारे । बैठकमा सांसदहरुले परीक्षा प्रणाली देखि नतिजा प्रकाशन सम्मको व्यवस्थापन चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य गजेन्द्र बहादुर महतले त्रिविको लापरवाही र त्रुटीको जिम्मेवारी पनि सरकारले लिनुपर्ने र सरकार संचालनसंग जोडिने भएकाले त्यसतर्फ गम्भीर बन्न रजिष्ट्रारको ध्यानाकर्षण गराए ।
अर्का सदस्य अञ्जना विशंखेले भनसुन गरेर नम्बर थप गर्न सकिन्छ कि भन्ने अभिप्रायले रिटोटलिङ हुने गरेको र त्यसका लागि आफुहरुलाई समेत आग्रह गर्ने गरिएको बताए । समिति सभापति जयपुरी घर्तीले नियतले नभई कर्मचारीले त्रुटी गरेको भनेर उम्कने अवस्था नभएको भन्दै परीक्षा र नतिजा प्रणालीमा देखिएका गम्भीर त्रुटी रोक्ने तर्फ गम्भीर बन्न आग्रह गरिन् ।
९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई अगाडि ६ थपेर ६९ पुर्याएको समाचार बाहिर आएपछि समितिले त्यसबारे छलफल गर्न रजिष्ट्रार र उपकुलपति तीर्थराज खनियालाई समितिमा बोलाएको थियो ।