एजेन्सी, असार १९
एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अहिले वेस्ट इन्डिज र अफगानिस्तानबिच प्रतिष्पर्धा भइरहेको छ । दुवै टोली लिग चरणबाटै बाहिरिएकोे हुँदा आजको खेल प्रतिष्ठाको लडाइमात्रै हुनेछ । यी दुवै टोलीको जारी विश्वकपमा यो अन्तिम खेल समेत हो ।
सुरुवाती ८ खेलमै पराजित भएको अफगानिस्तान अन्तिम खेलमा जित निकाल्न चाहान्छ । अफगानिस्तानका प्रमुख प्रशिक्षक फिल सिमन्सले यहि खेलबाट राजिनामा दिँदै छन् । त्यसैले अफगानिस्तान खेलाडी अन्तिम खेलमा प्रशिक्षक सिमन्सलाई जित सहित बिदाई गर्ने सोचमा छन् ।अफगानिस्तान पछिल्लो समय वेस्टइन्डिजमाथि हावी हुँदै आएको छ ।
यता वेस्ट इन्डिज पनि अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने दाउमा छ । वेस्ट इन्डिज ८ खेलमा १ मा जित र ६ मा हारका साथ नवौं स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो । वेस्ट इन्डिज गत वर्ष विश्वकप छनोटको फाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो । जुनको बदला वेस्ट इन्डिज विश्वकपमा लिन चाहन्छ । विश्वकपमा अफगानिस्तान र वेस्ट इन्डिज पहिलो पटक भिड्दै छन् । यी दुई देशबीच ५ वान डे खेल भएको छ । जसमा अफगानिस्तान ३ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । एक खेलको नतिजाबिहीन छ ।