१९ असार, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको समूह संगठित आतंकवादी समूह भएको बताएका छन् । सञ्चार मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विप्लब समुह आतंकवादी समूह नै भएको ठोकुवा गरेका हुन् ।
विप्लवका क्रियाकलाप जनतामा त्रास र भय फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित अपराध भएको टिप्पणी उनले गरे । उनले सरकारले वार्ता आव्हान गर्दा गर्दै अस्वीकार गरि हिंसा रोजेर विप्लव समूह उपयोगितावादी भएको दाबी गरे । सरकार अझै पनि वार्ताबाट समस्या समाधान गर्न तयार रहेको भन्दै उनले विप्लब समूहले नै वार्तालाई अस्वीकार गरि भागेको टिप्पणी गरे ।
जनताको अधिकार प्राप्तीका लागि आवश्यक परिर्वतन भईसकेको भन्दै उनले व्यक्ति विशेषको चाहाना र मनोकामनालाई जनताले स्वीकार नगर्ने चेतावनी दिए । उनले दुई तिहाईको सरकार त्यत्तिकै नआएको र सरकारलाई के गर्नुपर्छ भन्ने राम्रो हेक्का भएको बताए । उनले संगठित आतंककवाद तर्फ उन्मुख विप्लब समूहका क्रियाकलापलाई सरकारले छुट नदिने स्पष्ट पारे ।