काठमाडाैँ : विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र समिति सदस्यबीच वादविवाद भएको छ । विवादको चुरो थियो– समिति बैठकमा सरोकारवाला राख्ने कि नराख्ने ! बैठक चलिरहँदा सरोकारवाला सर्वसाधारण राखिनुहुन्न भन्ने मन्त्री महासेठको तर्क थियो ।
अर्कातिर, समिति सभापति कल्याणीकुमारी खड्काले आफूहरू मूल्य/मान्यताअनुसार नै चलेको दाबी गरिन् । सभापति खड्काले भनिन्, ‘मन्त्रीज्यू ! पहिला पनि सरोकारवाला राखेरै छलफल गरिन्थ्यो । यो पहिलोपटक होइन ।’
समितिले बिहीबारको बैठकमा ‘राष्ट्रिय बहिरा महासंघ’का प्रतिनिधिलाई आमन्त्रण गरेको थियो । खड्काले भनिन्, ‘उहाँहरूले मन्त्रीसँगै आफ्नो समस्या राख्ने भनेर हामीलाई पत्र पठाएपछि समय उपलब्ध गराएका थियौँ ।’ बैठकमा आफूलाई पनि राख्नुपर्यो भन्दै महासंघले विकास समितिलाई ०७६ असार ५ गते चिठी पठाएको थियो ।
बहिरा महासंघको मागसमेत सम्बोधन हुने गरी विभिन्न विषयमा छलफल गर्न समितिले बिहीबार बैठक डाक्यो । बैठकमा सवारीचालक अनुमतिपत्र, विद्युतीय सवारीसाधन सञ्चालन र व्यवस्थापन, देशका विभिन्न सडकखण्डको दुरावस्थालगायतका विषयमा छलफल गर्ने बताइएको थियो र बहिरा नागरिक सवारीचालक संघर्ष समितिका संयोजक राघवीर जोशी तथा राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारी पनि उपस्थित थिए ।
बहिरा प्रतिनिधिलाई अलग्गै कोठामा राखेर समितिको बैठक साढे ११ बजे सुरु भयो । बैठक सुरु हुनेबित्तिकै सभापति खड्काले ‘बहिरा महासंघबाट प्रतिनिधिहरू आउनुभएको छ, उहाँहरूलाई बोलाऊँ’ भनेपछि मन्त्रीले बोल्नका लागि समय मागेका थिए । उनले भनेका थिए, ‘एकातिर मन्त्री र अर्काेतिर सरोकारवाला राखेर छलफल हुँदैन । माननीयहरूले प्रश्न सोध्नुस् म उत्तर दिन तयार छु । तर, सरोकारवालालाई नराखौँ ।’ ,याे खबर आजकाे नयाँ पत्रिकाले छापेकाे छ।