सिंहदरबारभित्रै पूर्वसांसदको एनजिओ,संसद सचिवालयको भवनमै कार्यालय

सिंहदरबारभित्रै पूर्वसांसदको एनजिओ,संसद सचिवालयको भवनमै कार्यालय

काठमाडौँ : जननिर्वाचित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ ।

पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा तत्कालीन संविधानसभाका सदस्यहरूले फेरि अर्को एनजिओ सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘संविधानसभा सदस्य परिषद्, नेपाल’ नामको एनजिओ दर्ता गरेर संघीय संसद् सचिवालयको भवनमा कार्यालय स्थापना गरेका हुन् ।

तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको संसद् सचिवालयको भवन नम्बर २ को तेस्रो तलामा परिषद्को बोर्ड झुन्ड्याइएको छ । कार्यालयका लागि हाल तीनवटा कोठा प्राप्त भएको परिषद् संयोजक अनन्तप्रसाद पौडेलले बताए । पूर्वसभामुखसमेत रहेका सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ संरक्षक र दोस्रो संविधानसभाकी सभामुख ओनसरी घर्ती सल्लाहकार रहेको परिषद्को सहसंयोजकमा ईश्वरी सुवेदी, महासचिवमा ऋषिकेश पोखरेल, सचिव डोरप्रसाद उपाध्याय र कोषाध्यक्षमा सीता गुरुङ छन् ।३५ सदस्यीय तदर्थ समिति गठन भएको परिषद्मा संविधानसभा हुँदा संलग्न सबै राजनीतिक दललाई समावेश गरिएको संयोजक पौडेलले बताए ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.