२० असार, काठमाडौँ ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य विजय सुब्बाले स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती गरिएछ भनेर स्विकार गर्न सभापति शशी श्रेष्ठसँग माग गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद समेत रहेका सुब्बाले शुक्रबार समितिको बैठकमा लोक सेवा आयोगले खुलाएको सो विज्ञापनमा के–के रहेछ ? भन्ने थाहा नभई लोक सेवा आयोगलाई निर्देशन दिएको पाइएको उल्लेख गर्दै गल्ती स्विकार गरेर अघि बढन समितिका सभापति श्रेष्ठसँग माग गरेका हुन् ।
समितिले दिएको सो निर्देशन विपरित सर्वोच्च अदालतले सो विज्ञापन नरोक्न लोक सेवा आयोगलाई आदेश दिएपछि त्यो निर्देशन गलत थियो भनि स्विकार गर्न सुब्बाले समितिका सभापति श्रेष्ठलाई दवाव दिएका हुन् । सांसद सुब्बाले समितिको सो निर्देशनप्रति असहमति जनाएका छन् ।
समितिको बैठकमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले लोक सेवा आयोगले हालसम्म खुलाएको खुला र समावेशी कोटाबारे जानकारी लिनुपर्ने बताएका थिए । हालसम्म आयोगले कति कर्मचारीलाई बढुवा ग¥यो ? भन्ने जानकारी नभएका कारण पनि लोक सेवा आयोगबारे जनतामा गलत सूचना गएको र त्यसलाई सच्याउन जरुरी रहेको उनको भनाई थियो । सांसद बडुले लोक सेवा आयोगले खुलाएको विज्ञापन समावेशी भए/नभएको पुनः आयोगसँग बुझ्नुपर्ने पनि बताए । बैठकमा समितिका सभापति शशी श्रेष्ठले पनि सो सम्बन्धमा लोक सेवा आयोगसँग पुनः छलफल गर्ने बताएकी थिइन् ।