२० असार, काठमाडौँ ।
ग्लोबल आइएमई र जनता बैंक नेपालबीच मर्ज गर्ने सहमति भएको छ । शुक्रबार विहान दुई बैंकका सञ्चालक समितिबीच समझदारी भएको हो । उक्त समझदारी राष्ट्र बैंकमा समेत बुझाई सकिएको ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
मर्जपछि बैंकको नाम ग्लोवल आईएमई बैंक हुने छ । बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल नै रहने छन् । प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री हुने छन् । उनी हाल जनता बैंकमा प्रमुख कार्यकारी अधिकृत छन् ।
त्यस्तै, सञ्चालक समितिमा जनता बैंकबाट दुई जनाले प्रतिनिधित्व गर्नेछन् । मर्जको क्रममा सेयर स्वाप रेसियो ग्लोवल आईएमई बैंकको १०० र जनता बैंकको ८५ रुपैयाँ गर्ने समझदारी भएको छ ।
मर्जर सम्बन्धि राष्ट्र बैंकको कार्यविधि अनुसार डीडीए रिपोर्टका आधारमा स्वाप रेसियो १० प्रतिशतसम्म तलमाथि हुने सक्ने जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझिले जानकारी दिए ।
नेपाल सरकारको नीति, राष्ट्र बैंकको निर्देशनको पालना गर्दै दुई बैंक मर्ज गर्ने समझदारी गरेको ढकालले बताए । ‘राष्ट्र बैंकले ८ अर्ब पुँजी पुर्याउने नीतिलाई पनि सहयोग गर्दै हामीले पहिलोपटक ८ अर्ब पुँजी पुर्याएका थियौं । हालै सरकारले बजेटमा ठूला बैंकलाई मर्ज गराउने नीति लिएपछि पनि हामीले पहिलो पटक ठूलो मर्जको निर्णय लिएका छौं’ विकासन्युजसँग कुरागर्दै ढकालले भने ।
मर्जर प्रक्रिया ४ महिना भित्र टुङग्याउने सहमति भएको उनले बताए ।
मर्जपछि ठूलो र बलियो बैंक बन्ने
दुई बैंकबीच मर्ज हुदा बलियो र प्रभावकारी वाणिज्य बैंक बन्ने छ । चुक्ता पुँजी, निक्षेप, कर्जा लगानीको हिसावले यो बैंक सबैभन्दा ठूलो र शाखा सञ्चालको हिसावले दोस्रो ठूलो बैंक बन्नेछ ।
मर्जपछि चुक्ता पुँजी १७ अर्बभन्दा बढी हुनेछ । हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । यस्तै, जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ । हालको पुँजीको योग १८ अर्बभन्दा बढी भए पनि स्वाप रेसियो मिलाउँदा पुँजी १७ अर्ब ३ करोड रुपैयाँ हुनेछ ।
बैशाख मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको निक्षेप १ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । जनता बैंकको ७१ अर्ब रुपैयाँ निक्षेप छ । दुबै बैंकको निक्षेप १ खर्ब ८८ अर्ब रुपैयाँ हुने छ ।
मर्जपछि दुई बैंकको शाखा २७८ वटा हुनेछन् । हाल जनता बैंकको शाखा १४१ रहेका छन् भने ग्लोबल आईएमईको शाखा १३७ वटा रहेका छन् ।
‘हामी ठूलो बैंक बन्दै छौ । हाम्रो जोखिम बहन गर्ने क्षमता पनि बढेको छ’ ढकालले भने–‘बैंकले दिने सेवाको स्तर पनि बढाउँछौं । लगानीकर्ताले पनि पहिला भन्दा राम्रो प्रतिफल पाउने वातावरण बन्छ ।’
ग्लोबल आइएमई १२ वर्ष पुरानाे बैंक हाे भने जनता बैंक १० वर्ष पुरानाे बैंक हुन् । दुबै बैंकसँग विभिन्न चरणमा मर्ज हुँदै अगाडि बढेकाे अनुभव छ । याे मर्जसँग अरू बैंकलाइ पनि मर्जमा जान दवाव पर्ने देखिन्छ ।