२० असार, विराटनगर ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । मलेसियाबाट प्राप्त भएको मापदण्ड पूरा गर्ने ९९ स्वास्थ्य संस्था छनोट गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य परीक्षणका लागि विराटनगरका तीन अस्पतालले आवेदन दिएपनि छनोटमा पर्न नसकेका हुन् । मन्त्रालयबाट खटिएका प्राविधिकसहितको टोलीले गरेको स्थलगत अनुगमन निरिक्षण प्रतिवेदनको आधारमा ती अस्पतालहरुमा मलेसिया सरकारबाट प्राप्त भएको मापदण्ड पूरा नभएको देखिएको उल्लेख गरिएको छ । कामदारको स्वास्थ्य परीक्षणका लागि विराटनगरका गोल्डेन अस्पताल, विराटनगर अस्पताल र म्याक्स इन्टरनेशनल हस्पिटलले आवेदन दिएको उल्लेख छ ।
मन्त्रालयले आवेदन दिएका २ सय ९० स्वास्थ्य संस्था मध्ये परीक्षणका लागि १ सय ३८ सस्थाले मात्रै मापदण्ड पूरा गरी अनुमति पाएको जनाएको छ । मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि यसअघि ३७ वटा स्वास्थ्य संस्थाको एकाधिकार थियो । श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणमा सिण्डिकेट भएको भन्दै ती संस्थालाई कारबाही गर्न निर्देशन दिएका थिए ।
मलेसियाले पठाएको मापदण्ड अनुसार नयाँ स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरिएको थियो । पहिलेको ३७ मध्ये अहिलेको नयाँ मापदण्डअनुसार ३६ वटा छनोट भएका छन् । नेपाल र मलेसियाबीच गएको कात्तिकमा भएको श्रम समझदारीमा मलेसियाले आफूले लैजाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड आफैं बनाउने उल्लेख भए अनुसार नयाँ मापदण्ड पठाएको थियो ।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । तर मलेसियाको रोजगारी चाहिँ अझै खुलिसकेको छैन । दुवै देशको प्राविधिक समूहको बैठक छिटै मलेसियामा बस्ने निर्णय चाहिँ भैसकेको छ ।