२० असार, काठमाण्डौ ।
नागरिक अगुवा कृष्ण पहाडीले सरकारले प्रेस स्वतन्त्रता विरोधी कदम जारी राखे प्रतिकारमा हुने आन्दोलनले सरकार स्वयम् खतरामा पर्ने चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघले शुक्रबार सञ्चार ग्राममा गरेको अन्तरक्रियामा नागरिक अगुवा पहाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने हरकत कायमै रहिरहे त्यसपछि उत्पन्न परिस्थितिको सरकार स्वयम् जिम्मेवार हुनुपर्ने बताए । उनले प्रेस स्वतन्त्रता रक्षाका लागि महासंघको नेतृत्वमा हुने आन्दोलनले सरकार मात्रै नभई सरकारको नेतृत्व गरेको पार्टीलाई नै सिध्याउने दाबी गरे । दुई तिहाईको बलमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक पास गर्ने प्रयास भएमा जेल भराउ अभियान संञ्चालन गर्न महासंघलाई उनले सुझाव दिए । महासंघको आन्दोलन चर्किदै जाँदा त्यसले सरकार विरोधी आन्दोलनको स्वरुप लिने उल्लेख गर्दै उनले राजनीतिलाई अपराधिकरण गर्ने र प्रेसको ढुकढुकी मास्ने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिए । माफियाले गाँजेको सरकारले माफिया विरोधी समाचारमा नियन्त्रण गर्ने उद्देश्य साथ प्रेस स्वतन्त्रता विरोधी अभियान अन्र्तगत नै विधेयकहरु ल्याएको उनले दाबी गरेका छन् । कार्यक्रममा महासंघका पुर्व अध्यक्ष शिव गाउँलेले संविधानको दायरा नाघेर दुई तिहाईको बलमा विधेयक पास गर्ने काम गरियो भने पनि न्यायिक चुनौतिको बाटो खुल्ला नै रहने भएकाले सोही माध्यमबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक सुरक्षित गर्न सकिने बताए ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल लगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकमा उल्लेखित प्रेस विरोधी प्रावधान हटाउने प्रतिवद्धता सत्तारुढ दलबाट आउनुपर्ने बताए ।