चुनढुङ्गा खानीले वस्ती नै जोखिममा, दशैँसम्म बन्द नगरे खानी विभागलाई मुद्दा हाल्ने तयारी

चुनढुङ्गा खानीले वस्ती नै जोखिममा, दशैँसम्म बन्द नगरे खानी विभागलाई मुद्दा हाल्ने तयारी

२१ असार, काठमाडौँ ।

गाउँमा चुनढुङ्गा खानी सञ्चालन हुँदा खुशी लाग्नु पर्ने हो । तर, शुभश्री अग्नि सिमेण्टविरुद्ध आक्रोसित प्युठानवासीले खानी विभागलाई मुद्दा हाल्ने तयारी गरेका छन् । दाङमा स्थापना भएको शुभश्री अग्नि सिमेण्ट प्रालिले करिव ४०० घरलाई असर पुर्याएको भन्दै मुद्दा हाल्न लागिएको हो । दाङमा स्थापना भएको शुभश्री अग्नि सिमेण्ट प्रालिले प्यूठानको लुप्लुङ बडाचौरबाट उत्खनन गरेर चुनढुङ्गा निकाल्दै आएको छ ।

उद्योगले चुनढुङ्गा उत्खनन् गर्दा मानव जीवन नै संकटमा पर्न थालेको भन्दै स्थानीयवासीले चुनढुङ्गा उत्खनन् अनुमति खारेज गर्न माग गर्दै खानी विभागलाई मुद्दा हाल्ने तयारी गरेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र प्रदेश सभामा समेत स्थानीयवासीले २३ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

स्थानीयवासीको गुनासो आएपछि खानी विभागले एकपटक अनुगमन समेत गरेको थियो । यसअघि स्थानीयवासीले १० दिनसम्म खानीबाट चुनढुंगा निकाल्न अवरोध समेत गरेका थिए । स्थानीय एलबी भण्डारीका अनुसार उब्जाउ भूमि र बन क्षेत्र पूरै ध्वस्त गरेर खानी सञ्चालन गरिएको छ । उनले भने-‘आगामी दशैँसम्म खानी बन्द नगरे ठूलो दुर्घटना निम्त्याउँन सक्छ ।’

यता, खानी विभागका प्रवक्ता रामप्रसाद घिमिरेले शुभश्री अग्नि सिमेण्ट प्रालिले लुप्लुङको बडाचौरबाट चुन ढुंगा उत्खनन् गरेको भन्दै विरोध भएपछि प्राविधिकको टोली पठाएको र ठीक तरिकाले खानी सञ्चालन भएको प्रतिवेदन आएको जानकारी दिए ।

यसैबीच, नैबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले स्थानीय निकायमा कुनै पीडितले उजुरी गर्न नआएको बताए ।

यस्तो छ स्थानीयवासीले सरकारलाई बुझाएको विज्ञप्तीः
शुभश्री अग्नी सिमेन्ट उद्योग प्रालिले प्युठानको नौवहिनी ८ लुप्लुङमा गर्दै गरेको चुनढुङ्गा उत्खनन् कार्य यस कारण बन्द हुनुपर्छ भन्ने जोडदार माग गर्दछौँ ।

१. सिमित सर्वसाधारणलाई भ्रम पारी, तिव्र विरोध हुँदा हुँदै शुभ श्री अग्नि सिमेन्ट उद्योग प्रालिले नाटकीय रुपमा सम्झैता गरी सिङगो गाँउको भूमी उत्खनन् गरेको ।

२. उत्खनन् क्षेत्रमा वेन्च वा बक्स कटिङ नगरी ३ सय मिटर भन्दा बढी अग्लो खण्डहर बनाएको र बस्तुभाउहरु तथा मानिसहरु तीब्र जोखिममा परेको साथै तारजाली वा पर्खाल नलगाइएको ।

३. वस्ति भन्दा उत्खनन् कार्यस्थल खानी तथा भूगर्भ विभागको ऐन अनुसार पचास मिटर टाढा हुनु पर्नेमा ४५ घर दलित वस्ति जोडिएको साथै ५०० घर जोखिममा परेको ।

४. धार्मिक तथा साँस्कृतिक परिचय बोकेको सुन्दर गाँउ लुप्लुङलाई विध्वंस गर्ने गरी चार सय बढी घरधुरी भएको ठाउँमा न्युन सङ्ख्यामा उत्खनन् कार्य गर्न बम पड्काउने सम्मको सम्झौता गरेको ।

५. मापदण्ड विपरित अवैज्ञानीक ढङ्गले जथाभावी रुपमा सडक खनेको, होम पाइप, तारजाली तथा सिमेन्ट वाल नलगाएकोले जथाभावी फालिएको माटो र ढुङगा वर्षाको सिजनमा खोल्साबाट व्यापक भेल सहितको पहिरोले सिङ्गो गाँउ लुप्लुङ पुरै जोखिममा परेको साथै गहिराको ४ घर ४ गोठ ध्वस्त भएको र अधेरीखोलाका बस्तिका मानिसहरु आफ्नो घरमा बस्नै नमिल्ने भएको ।

६. सिङगो गाउँको खेतियोग्य जमिन खानी उत्खनन् क्षेत्र भन्दा तल पर्ने गहिरा, सियाँला तथा अधेरीखोलाका खेतहरु सिचाईँ गर्ने कुला तथा खेत पहिरोले भत्केको र बाँकी भएका खेतहरुमा सिचाइ नभई बाँझै भएको ।

७. घाँस, दाउरा, धानपराल गर्ने सर्वसाधारण हिड्ने गोरेटो बाटो नाम निसान समेत मेटेको र सर्वसाधारणलाई टिप्परको डर त्रासका बावजुत बाध्य भएर सडकमा हिड्नु परेको ।

८. वन क्षेत्रका हजारौँ रुखहरु फडानी गरिएको, एउटापनि वृक्षारोपण नगरिएको तथा जनताको सहमति विपरित थाहै नदिई सातताले सामुदायिक वनलाई राष्ट्रिकरण गरेको ।

९. चार दशमलव ९ हेक्टर बन क्षेत्र अतिक्रमण र विध्वंश गरी चुनढुङगा उत्खनन् गरेकोले पानीका मूल स्रोतहरु सुकेका छन् ।

१०. वातावरण, पर्यावरणलाई ध्यान नदिइकनै उत्खनन् कार्य गरेकोले हिउदमा धुलोले लुप्लुङ लगायत फोप्ली, लुङ, सीरबारी र अन्य गाँउ धुलाम्य भई जनस्वास्थ्यमा विकराल समस्या तथा खेती उत्पादनमा व्यापक कमी आएको ।

११. वन क्षेत्र, तथा स्थानीय दलितहरुको चिहान क्षेत्रमा ऐन अनुसार खानी उत्खनन गर्नै नमिल्ने ठाउँमा उत्खनन् गरेको ।

१२. वर्षाको सिजनमा टिप्पर जस्ता ठुला गाडी गुडाउन नमिल्ने मापदण्ड भएको कच्चि सडकमा टिप्पर आतङ्क भएको, रात विरातमा सडकसंग घर जोडिएका लुप्लुङदेखी कालाकाटे दाङ सम्मका सर्वसाधारण मानिसहरु सुत्न समेत नसकेको ।

१३० सम्वेदनशील विरामी बोकेका एम्बुलेन्सहरु घण्टौँ सम्म सडकमा रोकिदिएको ।

१४. महिला, बालबालिका तथा सामाजिक हिंसाका घटनाबाट सामाजिक सद्भाव ध्वस्त भएको ।

१५. खानी उत्खनन् गर्ने क्षेत्रसंग जोडिएका खेतियोग्य जमिनका मानिसहरुसंग कुनै सहमति नलिएको र उनीहरुको सिमानाबाटै खण्डहर बनाई उत्खनन् गरेको ।

१६. स्थनीय सरकार भइरहँदा र जनताले तिरेको करबाट प्रसस्त बजेट हुदाँहुदै निजी कम्पनीसंग पूर्वाधार निर्माणको माग गर्नु नै ठीक नभएको र त्यस अनुसार प्लस टु को भवन, शिशु कक्षा, वन कार्यालय, स्वस्थ्य चौकी बनाइदिने सम्झौता भएको र हालसम्म कुनै कार्य नगरिएको र अन्य क्षेत्रमा लगानी गरेको तर जनतालाई सर्वजनिक नगरिएको ।

१७. उत्खनन् कार्य गरेको ठाउँको माटो र मसिना ढुङ्गाको व्यवस्थापन नगरिएको तथा ध्वनी प्रदुषण व्यापक भएको ।

१८. खेती योग्य जमिन, घर, गोठ, बोटविरुवा तथा खेती ध्वस्त भइरहँदा स्थानीयले उचित क्षतीपुर्ती नपाएको ।

१९. स्थानीयलाई रोजगारीमा प्राथमिकता दिदै नदिइएको ।

२०. स्थानीयले बारमबार यी सबै कुराको समाधानका लागि चुनढुङ्गा उत्खनन् बन्द गर्न दबाव दिइएको भएतापनि कुनै वास्ता नगरिएकोे ।

२१. सरोकारवाला निकायले वस्ति जोखिममा पर्दा पनि उत्खनन् बन्द गर्न कुनै चासो नराखेको तथा पहल नगरेको ।

२२. वातावरण प्रदुषण, पर्यावरण ध्वस्त, भुक्ष्य, पहिरो बाट जनता तिव्र जोखिममा पर्दा समेत जिल्ला प्रशासन कार्यालयले कुनै पनि अनुगमन नगरेको र जनताको जिउधनको सुरक्षामा चासो समेत नदिएको ।

२३. वस्तुभाउले पानी खाने चार वटा पोखरी तथा स्थानीयले पूजा गर्ने थान समाप्त गरिएको ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.