२१ असार, काठमाडौँ ।
जेठ ३ गतेबाट हलमा प्रदर्शन आरम्भ गरेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले पनि शनिबार आज ५१ दिने यात्रा पूरा गरेको छ ।दश किलो सुनको कथामा आधारित यो फिल्मले राजधानीमा ७ वटा हल (सिंगल र मल्टीप्लेक्स)मा प्रदर्शनको ५१ दिन मनाएको हो ।
फिल्मले एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिजमा फिल्मले ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको फिल्मका निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले जानकारी दिए । मोफसलतर्फ भने फिल्मले कुनै हलमा ५१ दिन मनाउन सकेन ।
५१ दिन पुरा गरेको अवसरमा निर्माण टिमले शनिबार राजधानीका विभिन्न हल पुगेर दर्शकलाई धन्यवाद दिँदैछ । भने, साँझ एक भब्य कार्यक्रमका बीच फिल्मको सफलताको खुसी साटासाट गर्दैछ । त्यस्तै ‘जात्रै जात्रा’ यस वर्षको सबैभन्दा धेरै मुनाफा कमाउने फिल्मको सूचीमा सुचिकृत भएको छ । फिल्मले प्रदर्शनको ५१ दिनसम्ममा घरेलु बजारबाट साढे ९ करोडको ग्रस कलेक्सन गरेको अनुमान गरिएको छ । यो फिल्मको पहिलो पार्टले पनि हलमा ५१ दिने यात्रा पार गरेको थियो ।
समीक्षात्मक र व्यावसायिक दुबै सफलता चुमेको यस फिल्मबाट निर्देशक प्रदिप भट्टराईले ह्याट्रिक गरेका छन् । यसअघि उनी निर्देशित फिल्म ‘जात्रा’ र ‘शत्रु गते’ ले पनि बक्सअफिसमा बम्पर व्यापारसँगै हलमा ५१ दिन मनाएका थिए । ‘जात्रै जात्रा’ मा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ । गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइप र स्टारकास्टका कारण फिल्मको इनिसियल बक्सअफिस आक्रामक रहेको थियो । फिल्मले प्रदर्शंनको तीन हप्तासम्म बक्सअफिसमा जबरजस्त व्यापार गरेको थियो ।









