मौसमको पूर्वसूचनाले घटाउन सक्छ जोखिम

मौसमको पूर्वसूचनाले घटाउन सक्छ जोखिम

काठमाडौँ : वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस् । जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानकारी सहजै दिइन्छ ।

त्यस्तै ‘नेपाल फ्लड अलर्ट’ नामको फेसबुक पेज र ट्विटर पेजमा पुगेर पनि वर्षा र यसले निम्त्याउने जोखिमको अवस्था थाहा पाउन सकिने बाढी पूर्वानुमान महाशाखाका कर्मचारी सुनिल पोखरेलले बताउनुभयो । उहाँले भनेझैँ त्यस पेजमा शनिबार बिहानै तीन दिनको बाढी पूर्वानुमानको सूचना प्रकाशित भयो । जानकारीसँगै नदीको नक्सामा बाढीले देखिएको उतारचढाव सहितको जानकारी पनि उपलब्ध छ ।

बाढी पूर्वानुमान बुलेटिनमा राखिएको सूचनाअनुसार विगत २४ घन्टामा सबैभन्दा बढी वर्षा लमजुङको बँेसी सहरमा भएको छ । यस अवधिमा करिब १०० मिलिमिटरवर्षा भएको थियो । सोही बुलेटिनमा नेपालका ठूला तथा मझौला नदीहरू कन्काई, कोसी, कमला, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा आइतबाररातिसम्म हुने वर्षाले बहाव बढ्ने तर सतर्कता तहभन्दा तल नै बहावको अवस्था स्थिररहने उल्लेख छ ।

बुलेटिनमा उल्लेख भएअनुसार सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिम क्षेत्रका स्थानीय नदीमा भने बहाव उच्च रहँदा आकस्मिक बाढी आउने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरको चुरे पहाडबाट बग्ने नदी तथा पाँच नम्बर प्रदेशको बर्दिया, बाँके, दाङ, कर्णालीका केही र प्रदेश ३ का पहाडी जिल्लामा बग्ने नदीमा बाढी आउने भएकाले सतर्क रहन भनिएको छ ।

आगामी एक हप्तासम्म प्रायः नदीका जलाधारको बहाव बढ्दै साताको अन्त्यसँगै बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । तटीय क्षेत्रका कृषि उपज असार २८ गतेभित्र थन्काइसक्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सो अवधिदेखि तटीय क्षेत्रमा निर्माण कार्य नगर्न, नगराउन पनि महाशाखाले भनेको छ । त्यस्तै हाइड्रोलोजी डट जीओभी डट एनपी वेब साइटमा राखिएको विस्तृत जानकारी अध्ययन गरेर यात्राको योजना बनाउन र प्राकृतिक प्रकोपबाट
बच्न सकिन्छ ।
“जुलाई १५ तारिखपछि नदीमा उच्च बहाव हुनेछ,” जलविज्ञ विनोद पराजुलीले भन्नुभयो, “एक महिनासम्म नदीको बहाव बढ्दा जनजीवन जोखिममा पर्न नदिन सतर्क छौँ । ” उहाँका अनुसार वेब साइटमा कुन खोलाको सतहको अवस्था कस्तो छ भनेर थाहा पाउन रातो, हरियो, पहेँलो, नीलो आदि रङले सङ्केत गरिरहन्छ ।

उच्च बहाव भएपछि वेब साइटमै साइरन बज्छ । “जुन क्षेत्रमा जोखिम बढेको हो, सो क्षेत्रमा तत्काल मोबाइलबाटै म्यासेज पठाउने व्यवस्था छ,” उहाँले थप्नुभयो, “जसका लागि नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरिरहेका छौँ । ” बाढी र मौसमको पूर्वानुमानमा फुलफेजको सेवा प्रदान गरिरहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताउनुभयो । उहाँका अनुसार जलाधारको सञ्जालमा नेपाल धेरै वर्ष अघिदेखि सक्षम छ ।

उहाँका अनुसार बाढी र मौसमसम्बन्धीे तीन दिनको जानकारी हरेक दिन दिँदै आएकामा हरेक दिन एक हप्ताको जानकारी दिने तयारी विभागले गरिरहेको छ । पहाडमा पानी परे त्यो स्थानमा पहिरो जान सक्छ भने तराई डुबानमा पर्न सक्छ ।

“लगातार ६ घन्टा पानी परेमा पहिरो जानसक्छ भनेर एलर्ट गराउँछौँ,” उहाँले भन्नुभयो, “तराईमा पनि डुबानको सतर्कता गराउँछौँ । ” पहाड र हिमाली क्षेत्रले मात्र ८० प्रतिशत भूभाग ओगटेको छ । नदीको बहाव परीक्षण गर्ने मोडम राख्न निकै कठिन रहे पनि थप सतर्कताका साथ राख्ने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.