काठमाडौं : विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् ।
‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश गर्दैमा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन,’ आदिनाथ माध्यमिक विद्यालय, चोभारका प्रधानाध्यापक जुजुभाइ महर्जनले बताउनुभयो ।
उहाँकै विद्यालयमा यौन शिक्षा पढाइरहेकी शिक्षिका रमिला तामाङ सहमति जनाउनुहुन्छ ‘कक्षाकोठाभित्र प्रवचन विधिद्वारा पढाइएको यौनशिक्षाको विषयवस्तु अपुग छ, किशोर–किशोरी र युवाहरुलाई यस सम्बन्धमा आवश्यक जानकारी गराउन हामीले थप प्रयास गर्नु आवश्यक छ ।
शिक्षिका तामाङले बाहिरका केही गैरसरकारी संस्थाहरुसँग मिलेर यौन तथा प्रजनन स्वास्थ्यको बारेमा विद्यार्थीलाई थप प्रशिक्षण दिने गरेको पनि जानकारी गराउनुभयो । किशोर–किशोरीले यौनशिक्षाका बारेमा जानकारी पाएभने उनीहरुले आफ्ना अभिभावकलाई समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा प्रशिक्षित गर्नेछन् ।
‘प्रजनन अंगका बारेमा व्याख्या गरेर त्यसको संवेदनशीलता र प्रजननसम्बन्धी कामका बारेमा जानकारी गराउनु, विद्यार्थीका जिज्ञासाको जानकारी दिनु र यससम्बन्धमा विकृति हुन नदिनु त कहाँ हो कहाँ, शिक्षिक–शिक्षिकाहरु ल ल आफै पढ भन्दै पढाउँदै नपढाई पाना पल्टाउँछन्’ काठमाडौंको झोछेंका अभिभावक सजना शाक्य भन्नुहुन्छ, ‘म विद्यार्थी हुँदा पनि त्यस्तै थियो, आज पाँच वर्षपछि मेरी बहिनीले पनि त्यही अनुभव सँगालिरहेकी छ ।’ उहाँ लजाउने शिक्षकलाई गैरजिम्मेबार मान्नुहुन्छ, यस्ता शिक्षक शिक्षिकालाई बाहिर पठाएर भिडियो, डकुमेन्ट्री र युट्युबबाट अन्तरक्रियात्मक रुपमा यौनशिक्षा हासिल गराइनुपर्छ भन्नुहुन्छ ।,यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज रेग्मीले लेखेका छन् ।