२२ असार, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफुल लाई विषादी परीक्षण नगर्ने निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने भन्दै उनले आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन् । उनले विषादीयुक्त तरकारी तथा फलफुल आयातमा कडाईका साथ रोक लगाउन र त्यस कार्ययोजना बारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।
असार २ गते राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्टाउँदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुदै आएको छ ।