२२ असार, विराटनगर ।
विराटनगर महानगरपालिका भित्रमा अहिलेसम्म १५ जनामा डेंगुको संक्रमण भेट्टिएको छ । विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनका अनुसार अहिलेसम्म महानगरपालिका भित्रमा १५ जनामा मात्र डेंगुको संक्रमण भेटिएको छ ।
उनले यसका लागि विभिन्न सचेतनाका कार्यक्रम गर्नुका साथै खोज तथा नष्ट कार्यक्रम जारी राखिएको बताइन् । यसैगरी मोरङ जिल्लामा अहिलेसम्ममा २० जनामा डेंगु रोग देखिएको छ । उनीहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भैरहेको तथा केही उपचार पश्चात घर फर्किएका छन् ।
डेंगु रोग मानिसबाट मानिसमा नसरी लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा मात्र यो रोग सर्ने गर्दछ । यो लामखुट्टेले दिउँसो मात्र टोक्ने र सफा र स्थिर पानीमा अण्डा पार्ने गर्दछ । एक्कासी उच्च ज्वरो आउनु, ५, ७ दिनसम्म ज्वरो आउनु, टाउको असाध्यै दुख्नु, ढाड, जोर्नी र मांसपेशी दुख्नु डेंगु रोगको मुख्य लक्षण हुन् ।