एजेन्सी, असार २३
कोपा अमेरिका २०१९ को उपाधि घरेलु टोली ब्राजिलले जितेको छ । आइतबार भएको फाइनलमा पेरुलाई ३–१ ले पराजित गर्दै ब्राजिल कोपा अमेरिका च्याम्पियन बनेको हो । ब्राजिलको जितमा फरवार्ड ग्याब्रीएल जेससले एक गोल र एक असिस्ट गरे । साथै दोस्रो हाफमा रातो कार्ड खाए ।
खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो । फरवार्ड ग्यब्रीएल जेससले दिएको पासमा एभरटनले भली प्रहार गर्दै गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको एक मिनेटमा नै जेससले आर्थरको पासमा गोल गरे ।
दोस्रो हाफको ७० औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । जेससले कार्ड खाएर मैदान बाहिरिने क्रममा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मोनिटरलाई धकेलेका थिए । तर रिचारलीसनले अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे ।
ब्राजिलको यो समग्रमा नवौं कोपा अमेरिका उपाधि हो ।