२३ असार, काठमाडौँ ।
सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको सीसीटिभीबाट निगरानी गर्ने भएको छ । हाल धमाधम निर्माणको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुमा सीसीटीभी जडान गरेर प्रधानमन्त्री केपी ओलीले सिंहदरबाटै प्रत्यक्ष निगरानी गर्न लागेका हुन् । त्यसका लागि हालसम्म ११ वटा आयोजनाहरुमा सीसीटिभी जडानको कार्य सम्पन्न भैसकेको छ ।
‘११ वटा आयोजनामा सीसीटीभी जडानको काम सम्पन्न भएको छ, एक साताभित्रै प्रधानमन्त्रीज्यूले निगरानी थाल्नु हुनेछ’, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगानाले विकासन्युजसँग भने । उनका अनुसार प्रधानमन्त्री कार्यालयमा स्थापना भएको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले ११ आयोजनाहरु लाइभ हेर्नेछन् । यस अघि नै एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुसँग भिडियो लाइभ गरेका थिए ।
प्रत्येक आयोजनामा कम्तिमा ६ वटा सीसीटीभी जडान गरिएको छ । सम्वद्ध आयोजनाले सिफारिस गरेका ठाउँमा सीसीटीभी जडान गरिएको हो । सरकारले नयाँ घोषणा हुने गौरवका आयोजनामा भने सीसीटिभी अनिवार्य गरिएको छ । ‘नयाँ गौरवका आयोजनामा सीसीटिभी सर्भिलेन्स राख्नै पर्छ भन्ने नियम नै बनेको छ, पुरानाका हकमा पनि क्रमशः जडान गर्दै जाने हो’, सचिव ढुंगानाले भने ।
यी हुन प्रधानमन्त्रीले सिंहदरबारबाटै लाइभ हेर्ने ११ वटा आयोजना
१) सिक्टा सिँचाई आयोजना
२) रानी–जमरा–गुलरिया सिँचाई आयोजना
३) भेरी–बबई बहुउदेश्यिय डाइभर्सन आयोजना
४) अपर तामाकोशी जलविद्युत आयोजना
५) काठमाडौं–तराई मधेश द्रुत मार्ग
६) पोखरा क्षेत्रिय विमानस्थल
७) भैरहवा अन्तराष्ट्रिय विमानस्थल
८) पुष्पलाल(मध्यपहाडी) राजमार्ग
९) राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
१०) मेलम्ची खानेपानी आयोजना
११) हुलाकी राजमार्ग
मेलम्ची खानेपानी आयोजनाको सुन्दरजलस्थित पानी प्रशोधन केन्द्रमा सीसीटीभी जडान गरिएको छ भने मुहानको हेडवक्र्स लगायतका ठाउँ पनि जडान गरिएका छन् । पुष्पलाल(मध्य पहाडी) राजमार्गको बाग्लुङ बुर्तिवाङ खण्डमा सीसीटीभी जडान गरिएको छ ।
प्रधानमन्त्री कार्यालयमा सीसीटिभीले लाइभ गर्नेछ भने त्यसको रेकर्ड समेत गरिएको हुनेछ । प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा निगरानी गर्नेछन् । पहिलो चरणमा ११ वटा आयोजनामा सीसीटीभी जडान गरेपछि बाँकी आयोजनामा पनि आवश्यकताका आधारमा क्रमशः जडान गर्दै जाने योजना सरकारले बनाएको छ ।(विकास न्युजबाट)