२३ असार, काठमाडौं ।
श्रीलंकामा सम्पन्न ‘सार्क फिल्म फेस्टिवल’मा दुई नेपाली चलचित्रले अवार्ड हात पारेका छन् । चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड– पर्फमेन्स’ जितेकी छन् । त्यस्तै अविनाश विक्रम शाहले निर्माण गरेको छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन)अवार्ड प्राप्त गरेको छ ।
स्वस्तिमाले बुलबुलमा निर्वाह गरेको भूमिकालाई उत्कृष्ट ठर्हयाउँदै जुरीले अवार्ड प्रदान गरेको हो । विनोद पौडेलको निर्देशनमा निर्माण भएको ‘बुलबुल’ सफल चलचित्रमा गनिन्छ । दर्शक तथा समीक्षकले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । यस चलचित्र स्वस्तिमाको करियरको एक उत्कृष्ट चलचित्रको रूपमा हेरिन्छ ।
यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ चलचित्रमार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् । यस वर्षको ‘सार्क फिल्म फेस्टिबल’मा चलचित्र विकास बोर्ड नेपालले ‘प्रसाद’ र ‘बुलबुल’ प्रतिष्पर्धा विधामा पठाएको थियो । ‘हरी’ चलचित्रले भने त्यहाँ सहभागिता मात्र जनाएको थियो । त्यस्तै सर्ट फिल्ममा मनोजबाबु पन्तको ‘अवशेष’ लाई पनि विकास बोर्डले प्रतिष्पर्धामा पठाएको थियो । सार्क फिल्म फेस्टिवलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो पुगेका थिए ।









