२३ असार, काठमाडौँ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । नेपाल भलिबल संघको सिफारिसमा राखेपको बोर्ड सदस्य नियुक्ती भएको लगत्तै उनलाई सोमबार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले ४ वर्षका लागि सदस्य सचिव नियुक्त गरेका हुन् ।
मन्त्रीस्तरीय निर्णयपछि सिलवालले मन्त्री विश्वकर्माबाट आज सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सपथ लिएका छन् । सिलवालले आजै पदभार ग्रहण गर्ने बताइएको छ । निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते ४ वर्षे कार्यकाल सकिएपछि आइतबार मात्र भलिबल संघको कार्यसम्पादन समितिको बैठकले सिलवाललाई राखेप बोर्ड सदस्य नियुक्त गर्न मन्त्रीलाई सिफारिस गरेको थियो ।
त्यसपछि रिक्त रहेको सदस्य सचिवमा सिलवाललाई नियुक्त गरेको हो । राखेप सदस्यहरु मध्येबाट मन्त्रीस्तरीय निर्णयबाट ४ वर्षका लागि राखेप सदस्य सचिव नियुक्त गर्ने प्रावधान छ । राष्ट्रिय संघहरुको सिफारिसमा ३ सदस्य राखेप बोर्डमा सदस्य नियुक्त हुने प्रावधान छ । संघको सिफारिसमा रहेका दावा गुरुङ राखेप सदस्य छन् ।
प्रधानमन्त्रीको निकट मानिने सिलवाल पूर्व सदस्य सचिव विष्टले पूर्नगठन गरेको नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष हुन् । हिसान र गोल्डेन गेट कलेजका अध्यक्ष समेत रहेको सिलवाल मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष हुन् । उनी क्यानको उपाध्यक्ष समेत रहिसकेका छन् ।