२३ असार, काठमाण्डौ ।
राष्ट्रिय सभाको बैठकमा बिभिन्न मन्त्रालयका मन्त्रीहरुले आगामी आर्थिक वर्षको लागि बिनियोजन प्रस्ताब भएको बजेट माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री,उर्जा जलस्रोत तथा सिंचाई मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्रीले जवाफ दिएका छन् । यस्तै प्रधानमन्त्रीको कार्यालय,राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सम्बन्धमा अर्थमन्त्रीले जवाफ दिएका छन् ।
बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवलाई सांसदहरुले पछिल्लो समय बहसमा रहेको भारतबाट नेपालभित्रिने तरकारीको विषादी जाँच र क्वारेन्टाइन जाँच सम्बन्धमा प्रश्नहरु सोधेका थिए । जवाफमा मन्त्री यादवले विषादी जांच सम्बन्धमा देशमा उपलब्ध प्रविधिबारे पर्याप्त जानकारी नहुदा निर्णय गरेर फिर्ता लिनु परेको बताएका थिए ।
बैठकमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षमा उर्जा जलस्रोत तथा सिंचाई सम्बन्धमा छुट्याएको बजेट र कार्यक्रमबारे सांसदहरुलाई स्पष्ट परेका थिए । उर्जा मन्त्री पुनले आगामी ३ बर्ष भित्र देशको सम्पूर्ण भागमा बिजुली बत्ति बाल्न पाइने गरि काम भैरहेको बताए ।
यस्तै बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले बिगतमा भन्दा यो आगामी आर्थिक वर्षको लागि शिक्षामा धेरै बजेट बिनियोजन भएको स्पष्ट पारे । बैठकमा सांसदहरुले शिक्षामा लगानी भए पनि प्रतिफल भने घट्दै गएको कारण के होला भनि प्रश्न सोधेका थिए । राष्ट्रिय सभामा बिनियोजन विधेयकमा छलफल गर्नु अघि प्रतिनिधि सभामा धेरै छलफल हुने भएकोले सांसदहरुका प्रश्न दोहोरिएको थिए ।
राष्ट्रिय सभामा गृहमन्त्रीलाई निर्मला पन्तको बारेमा, परराष्ट्रमन्त्रीलाई इन्डोप्यासेफिक रणनीति बारे स्वास्थ्यमन्त्रीलाई सरकारी अस्पतालको अवस्थाबारे, रक्षामन्त्रीलाई सेना परिचालन सम्बन्धि राष्ट्रिय सुरक्षा बिधेयकबारे र प्रधानमन्त्रीको तर्फबाट जवाफ दिनु हुने अर्थ मन्त्री युवराज खतिवडालाई नेपाली हवाई सेवा खस्किएको र हवाई मैदानको पूर्वाधार निर्माण बारे प्रश्नहरु सोधिएको थियो ।