२३ असार, काठमाडौँ ।
संसदीय सुनुवाई समितिले सरकारले सिफारिस गरेका चार जना राजदुतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले बंगलादेशका लागि प्रस्तावित राजदुत डा. वंशीधर मिश्र, अष्ट्रेलियाका लागि प्रस्तावित राजदुत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदुत नारद भारद्वाज र स्पेनका लागि प्रस्तावित राजदुत दावाफुटी शेर्पाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
योग्यता, क्षमता र कार्ययोजना चित्तबुझ्दो भएकाले सरकारले सिफारिस गरेका राजदुतहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । यस अघि समितिको बैठकमा प्रस्तावित राजदुतहरु मिश्र, दाहाल, भारद्वाज र शेर्पाले क्रमशः आफ्नो योग्यता, क्षमता र कार्ययोजना प्रस्तुत गर्दै नेपाललाई समृद्ध बनाउने गरी आफूहरुले कूटनीतिक गतिविधिलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
संसदीय समितिले अनुमोदन गरेका चार वटै देशका प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।