एजेन्सी, असार २४
विश्वकप क्रिकेट सेमिफाइनल खेलहरूका लागि रङ्गशालाको टिकट पाउन साढे छ लाख आवेदन परेका छन् । विश्वकपको पहिलो सेमिफाइनलमा मंगलवार भारत र न्यूजिल्याण्डबीच खेल हुँदैछ । दोस्रो सेमिफाइनल बिहीवार अस्ट्रेलिया र इङल्याण्डबीच हुनेछ ।
मंगलवारको खेल ओल्ड ट्र्याफोर्ड रङ्गशाला म्यान्चेस्टरमा हुनेछ । यसअघि लिग चरणमा भारत र न्यूजील्याण्डको खेल वर्षाका कारण हुन सकेको थिएन । एकैनासको प्रभावकारी खेल कौशलका हिसाबले भारत र न्यूजील्याण्डका कप्तान विराट कोहली र केन विलियम्सन शिखरमै छन् । यी दुई प्रतिद्वन्द्वी टोलीको नेतृत्व गर्दै भिडेको एक दशक नाघिसकेको छ । १९ वर्ष भन्दा कम उमेर समूहको सन् २००८ मा भएको विश्वकप सेमिफाइनलमा पनि यी दुई कप्तानको भेट भएको थियो । त्यतिखेर भारत विजयी भएको थियो ।
भारत र न्यूजील्याण्डबीच विश्वकप क्रिकेटमा नतिजा निस्केका सात खेल भएका छन्। ती सात खेलमध्ये चार खेलमा न्यूजील्याण्ड र तीन खेलमा भारत विजयी भएका छन्। एकदिवसीय खेलहरूमा भने यी दुई टोली १०६ पटक आमनेसामने भएका छन् । तीमध्ये ५५ खेलमा भारत र ४५ खेलमा न्यूजील्याण्ड विजयी भएका छन् भने एउटा खेला बराबरी भएको छ।