२४ असार, काठमाडौँ ।
चलचित्र ‘बुलबुल’का कलाकार चोपेन्द्र उर्फ मुकुन्द भुषालसँग अभिनेत्री केकी अधिकारीले ‘झिँगेदाउ’मा रोमान्स गर्ने भएकी छिन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ मा जीवन्त अभिनय पस्किएका भुषालले दोस्रो फिल्म ‘झिँगेदाउ’ मा केकी केही दिन अगाडि भित्रिएकी जनाईंएको छ ।
पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने सो चलचित्रमा मुकुन्द भने गएको महिना नै अनुबन्ध भएका थिए । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ निर्माण हुन लागेको हो । फिल्ममा धेरै मेहनत र जीवन्त अभिनय गर्ने कलाकार चाहिएकाले केकी र मुकुन्दलाई लिएको निर्देशक देउजाले बताएका छन् । बाँकी कलाकारको छनोट कार्य भइरहेको उनले बताए ।
कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक ज्ञानेन्द्र स्वयंले निर्माण गर्दैछन् ।चलचित्रको छायांकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा हुने जनाईएको छ । भदौबाट छायांकन सुरु हुनेछ ।
विष्णु कल्पितले खिच्ने फिल्ममा पासाङ टी शेर्पा कला निर्देशकको रुपमा रहेका छन् । फिल्मका गीतमा संगीत भर्ने जिम्मेवारी अर्जुन पोखरेलको काँधमा छ । पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् ।
एक जमाना एकसेएक हिट फिल्म दिएका निर्देशक ज्ञानेन्द्रले रक्षक, करुक्षेत्र, देवर बाबु, हामी ट्याक्सी ड्राइभर लगायतका फिल्म निर्देशन गरिसकेका छन् । उनी लामो समयपछि ‘वुद्ध वर्न इन नेपाल’ बाट निर्देशनमा फर्किएका हुन् ।









