एजेन्सी, असार २५
एकदिवसीय विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल लगातार वर्षा भएपछि स्थगित भएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । त्यसपछि लगातार वर्षाका कारण मैदान खेल्न लायक नहुँदा खेल स्थगित भएको हो । खेल बुधबार(आज) स्थानीय समयअनुसार विहान १०ः ३० बजे यसै स्थितिबाट खेल सुरु हुनेछ ।
न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान रोस टेलर ८५ बलमा ३ चौका र १ छक्का सहित ६७ रनमा अविजित छन् । त्यस्तै टम लेथम ३ रनमा नट आउट छन् । कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनु अघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे ।
न्युजिल्यान्डले चौथो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको थियो । गुप्टिललाई जसप्रित बुमराहले कप्तान विराट कोहलीबाट क्याच आउट गराए । त्यस्तै हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रनको योगदान दिए । जेम्स निशम १२ र कोलिन डी ग्राडहोम १६ रनमा आउट भए । भारतका लागि जसप्रित बुमराह,भुवनेश्वर कुमार,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १ विकेट लिएका छन् ।
बुधबार पनि खेल हुन नसकेको खण्डमा भने भारतले फाइनलमा स्थान सुरक्षित गर्नेछ । भारत सेमिफाईनलमा लिगको शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो ।