विराटनगर : नोबेल मेडिकल कलेज विराटनगरले अस्पताल हाताबाहिरका औषधी व्यवसायी र एम्बुलेन्स चालकलाई प्रवेशमा रोक लगाएपछि विवाद बढ्न थालेको छ । विवादकै कारण पटक– पटक कुटपिटका घटना हुने गरेका छन् । अस्पतालभित्र सञ्चालित शुस्वास्थय फार्मेसिका कर्मचारी सागर कोईराला र अस्पताल बाहिरको फार्मेसी सञ्चालक राजकुमार यादवबिच आईतबार राती कुटाकुट भएको थियो । अस्पताल प्रवेशमा रोक लगाईएको विषयमा विवाद भएपछि दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार कोईरालाको गल्ती देखिएकाले उनलाई मुद्दा चलाईएको छ ।काईरालालाई सात दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । यादव भने छुटेका छन् । गत १६ गते पनि शुस्वास्थ्य फार्मेसीकै कर्मचारीले बाहिरको सीताराम फार्मेसीका व्यवसायीलाई प्रवेशमा रोक लगाएपछि झडप भएको थियो । सो घटनामा पनि दुई जना पक्राउ परेका छन् ।
एम्बुलेन्स चालक संघ मोरङका अध्यक्ष चन्द्र पराजुलीका अनुसार गत वर्ष सुस्वास्थ्य फार्मेसीका कर्मचारीले अस्पतालभित्र गएका एम्बुलेन्स चालकलाई कुटपिट गरेको विषयमा आन्दोलन भएको थियो । औषधी व्यावसायीले माफी मागेपछि आन्दोलन स्थगित भएको पराजुलीले बताए । बिरामीका आफन्तले अस्पताल हाताभित्रैबाट औषधी खरिद गरुन् भनेर व्यावसायी र चालकलाई प्रवेशमा रोक लगाईएको छ । तर अस्पतालबाहिरका व्यावसायीले भने उपचार र औषधीमा लिईने गरिएको बढी शुल्क थाहा पाउन सक्ने जानकारहरुलाई प्रवेशमा रोक लगाएको बताएका छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।