२५ असार, काठमाडौं ।
अभिनेत्री शिल्पा पोखरेलले आफ्ना श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । शिल्पाले गएको तीन दिन अगाडि काठमाडौं प्रहरी परिसरमा श्रीमानबाटै आफु असुरक्षित भएको भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको प्रहरीले जानकारी दिएको छ ।
चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।
नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय बिबाहको कुरा लुकाएपनि गत वर्ष निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।
म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । शिल्पाले ‘लज्जा’ पछि छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।
शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । छविराजको तेस्रो श्रीमती रेखा थापा थिइन् ।









