२६ असार , सिरहा ।
तीनदिन देखि परेको भारी बर्षाले तराईमा अधिकांश जिल्ला जलमग्न छन् । बर्षाले सिरहा , सप्तरी , धनुषा, महोत्तरी लगायतका जिल्लाका बजार , कलखारना बन्द रहेका छन् । बर्षाका कारण बाहिरबाट आएका यात्रुलाई गन्तब्यमा पुग्न गाह्रो भएको छ ।
वर्षाका बीच किसानहरु भने खेतीगर्नमा ब्यस्त छन् । लामो समयपछि परेको पानीलाई सदुपयोग गर्दे किसान धान रोप्न ब्यस्त देखिएका छन् । मौसमविद्का अनुसार भोलिसम्म वर्षा जारी रहनेछ । शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार विहीबार काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ ।