२७ असार, विराटनगर ।
वल्र्डलिंक कम्युनिकेशनले काठमाडौंमा आयोजना गरेको ‘मार्केटिङ एक्सिलेन्स कम्पिटिसन २०१९’ मा विराटनगरको जेनिथ इन्टरनेशनल कलेज फस्ट रनरअप भएको छ । जेनिथले नेपालभरिका कलेजलाई उछिन्दै मार्केटिङ एक्सिलेन्स अवार्डमा फस्ट रनरअपको उपाधि हात पारेको हो । जेनिथले उपाधिसहित एक लाख रूपैयाँ जितेको छ ।
विद्यार्थीहरूले बजारमा चलिरहेका इन्टरनेट कम्पनी र उनीहरूले बेच्दै आएका विभिन्न ब्रोडब्याण्ड प्याकेजहरूको प्रभावकारिता अध्ययन गरी नयाँ प्याकेजहरू निर्माण गरेका थिए । बाणिज्य संकायमा अध्ययन गर्ने उनीहरूले तल्लो तहमा गएर बजार व्यवस्थापनको वास्तविकता अध्ययन गरेका थिए ।
बजारमा कस्तो इन्टरनेट चलिरहेको छ र कस्ता उत्पादन विक्री हुन सक्छन भन्ने अध्ययन गरी प्रतिस्पर्धामा भाग लिएको विद्यार्थी स्वेता श्रेष्ठ मास्केले बताइन । उनले आफ्नो समूहले तयार पारेको प्रतिवेदनका आधारमा फस्ट रनरअपको उपाधि प्राप्त गरेको जानकारी दिइन ।
प्रतियोगितामा नेपालभरिका २० वटा कलेजमध्ये फाइनलका लागि ८ वटा कलेजले प्रतिस्पर्धा गरेकोमा काठमाडौं बाहिरका मात्रै १२ वटा कलेज छानिएका थिए । प्रदेश १ मा जेनिथसहित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । विराटनगरको १९ वटै वडामा रहेका इन्टरनेट प्रयोगकर्तालाई भेटेर तयार पारेको प्रतिवेदन तनुज र स्वेतासहित सिद्धार्थ पोद्दार, सोनम यादव र राजु गुप्ताले समूह बनाएर प्रस्तुत गरेका थिए ।