२७ असार, विराटनगर ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले तीन पत्रकारलाई पुरस्कृत गरेको छ । सहकारी संस्थाले विराटनगर स्थित कान्तिपुर सम्वाददाता देवनारायण साह र विराटनगर स्थित बी एफएमकी उमा पोखरेल र कारोबार दैनिकका समाचार सम्पादक पत्रकार गजेन्द्र बुढाथोकीलाई सहकारी संस्थाको स्थापना दिवस पारेर सम्मान गर्न गरेको हो ।
साहलाई २१ हजार राशी सहितको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार प्रदान गरिएको छ । यस्तै १० हजार राशी सहित पोखरेल मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनु भएको छ । यस्तै ५१ हजार राशीको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट गजेन्द्र बुढाथोकीलाई सम्मान गरिएको हो ।

समाजसेवी दिनवन्धु गोयलले आफ्ना दाजुको नाममा स्थापना गरेको यो पुरस्कारको राशी ३१ हजार नगद रहेकोमा यस वर्षदेखि बढेर ५१ हजार पुर्याइएको छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले पाँच लाखको अक्षयकोष खडा गरी सोको व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई सम्मान गरिने जनाइएको छ । कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले राजनीतिक आस्थाको आधारमा नभएर निष्पक्ष भएर कलम चलाउनु पर्नेमा जोड दिए ।
