२८ असार, पाल्पा ।
पाल्पास्थित लुम्विनी मेडिकल कलेजबाट नवजात शिशु चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शुक्रबार दिउसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट नियन्त्रणमा लिइएको पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याइएको प्रहरीले जनाएको छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शु्क्रबार जमुनाकी आमालाइ सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् ।
त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन् । प्रहरीले बच्चा हराउने बित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खोजी गरेको थियो । नवजात शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।