२८ असार, काठमाडौँ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद् जोखिम न्यूनीकरणका लागि सरकारको तयारी नपुगेको बताए । रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै पौडेलले विपद् न्यूनीकरणको पुर्व तयारी गर्न नसक्दा तराईका जिल्ला बासीहरु प्रत्येक बर्ष बाढीको चपेटामा पर्ने गरेको बताएका हुन् । उनले अनियन्त्रित ढंगबाट बनाईएका बाँधहरु भत्काउने, मर्मत गर्ने र नेपालबाट समाधान नहुने समस्याबारे भारतसंग कुरा गरेर भएपनि बाढीजन्य पीडाको दीर्घकालिन अन्त्यको उपाय खोजिनुपर्ने बताए ।
राष्ट्रिय जनता पार्टीका सांसद अनिल कुमार झाले केन्द्रीय सरकारको अर्कमण्यताले तराईका जिल्लाका स्थानीय बर्षेनी बाढी र डुबानको चपेटामा पर्ने गरेको आरोप लगाए । उनले डुबानको कारक भन्दै छिमेकीलाई दोष दिनुभन्दा आफ्ना जनताको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने तर्क गरे ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद महेश बस्नेतले विपद् पछिको उद्धार, खोजी तथा व्यवस्थापनमा राज्यका सबै संयन्त्रहरु परिचालित भएको बताए । उनले बर्षा जारी नै रहेकाले थप क्षति हुन नदिन विपद् व्यवस्थापन संयन्त्रका टोलीलाई तयारी अवस्थामा राखेर सबै खालका उद्धार, राहत र उचित पुनस्र्थापनाका कामहरु पनि भईरहेको जानकारी दिए ।
अबिरल बर्षा संगै नदी, स्थानीय खोला लगायतमा आएको बाढीका कारण पुर्वी तराईका जिल्ला डुबानको चपेटामा परेका छन् । अहिले सम्म बाढी र पहिरोमा परि २६ जनाले ज्यान गुमाईसकेका छन् । भारतीय बाँधका कारण डुबानमा परेको रौतहटमा भने अहिले पानीको सतह कम हुदै गएको गृहमन्त्रालयले जानकारी दिएको छ ।