एजेन्सी, असार २९
विश्वकप क्रिकेटको फाइनलमा आज न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्ड उपाधिका लागी भिँड्दैछन् । लड्र्स क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।
दुवै टिम पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा हुनेछन् । योभन्दा अघि यी दुवै टिमले विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छैनन् । सेमिफाइनलमा १८ रनले भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको न्युजिल्यान्डको उच्च मनोबल छ भने घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै ऐतिहासिक दिन बनाउने लक्ष्यमा न्युजिल्यान्ड छ ।
विश्वकपको उपाधि जितेमा न्युजिल्यान्डले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्नेछ । यता, इंग्ल्यान्ड पनि आफ्नै घरेलु मैदानमा उपाधि जित्दै ऐतिहासिक जित बनाउन चाहन्छ । इंग्ल्यान्ड पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
लिग चरणको खेलमा न्युजिल्यान्डमाथि ११९ रनको जित निकालेको इंग्ल्यान्ड फाइनल खेलमा पनि त्यस्तै नतिजा निकाल्ने लक्ष्यमा छ ।