२९ असार, काठमाडौँ ।
आज विश्वभर छरिएर रहेका नेपाली भाषीहरुले २०६ औं भानुजयन्ति मनाईरहेका छन् । भानु जयन्तिकै अवसर पारेर नेपालमा पनि देश भित्र र बाहिर रहेका साहित्यिक संस्थाहरुको जमघटमा भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरिएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन् । भानु प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद, मणिपुर, नेपाल जनसांस्कृतिक मंच, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानुजयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित अभिनन्दन पत्रद्धारा सम्मान गरेको हो ।
त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले भानु जयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरे । त्यस अवसरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको राष्ट्रकवि घिमिरेको सुश्वास्थ्य र सुदीघार्यूको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए । कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व राष्ट्रकवि घिमिरेले विश्वभरमा छरिएर रहेका नेपाली भाषीहरुले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले युग अनुसार नेपालीका बारेमा मात्रै सोच्ने कविको रुपमा भानुभक्त आचार्यलाई चित्रण गरे ।
राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीहरुलाई भाषाको माध्यामबाट एउटै सुत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पूजनीय व्यक्तित्वको रुपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गरे । त्यस अवसरमा राष्ट्रकवि घिमिरेले नेपाली भाषा र साहित्यप्रति माया गर्ने सबै नेपाली भाषीहरुप्रति सम्मान पनि व्यक्त गरे । यस अघि भानु जयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई रथारोहण पनि गराइएको थियो । रामायणलाई नेपालीमा अनुदान गरेर भानुभक्तले नेपाली भाषालाई एकताको सुुत्रको बाँध्न पु¥याएको योगदान अतुलनीय रहिआएको छ ।