२९ असार ,विराटनगर ।
प्रदेश नम्बर १ सरकारले मुलुक संघीयतामा गएपछि पहिलो पटक भाषा–साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने एक दर्जन स्रष्टाहरुलाई नगदसहित सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसर पारेर सामाजिक विकास मन्त्रालयले भाषा–साहित्य र कला क्षेत्रमा विशेष योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गरेको हो ।
प्रदेश राजधानी विराटनगरमा शनिबार आयोजित कार्यक्रममा ‘बालकृष्ण पोखरेल भाषा–साहित्य–कला सम्मान’ यस वर्ष भाषाशास्त्री साहित्यकार प्रा.डा. टंकप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । न्यौपानेलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोसल्ला ओढाएर नगद १ लाख रुपैयाँ र सम्मानपत्र समर्पण गरे ।
प्रदेश १ मा रहेर हरेक वर्ष भाषा–साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एकजना स्रष्टालाई प्रदान गर्ने गरी भाषाशास्त्री बालकृष्ण पोखरेलको नाममा सामाजिक विकास मन्त्रालयले पुरस्कारको स्थापना गरेको हो । त्यस्तै इनरुवा सुनसरीका साहित्यकार उपेन्द्र पागल, विराटनगरका सोमराज अभय, झापाकी भवानी क्षेत्री, उदयपुरका राममणि पोखरेल, इलामका विमल वैद्य, तेह्रथुमका रविमान लम्जेललाई नगद ५० हजारसहित प्रदेश साहित्य–कला सम्मानबाट सम्मानित गरियो । त्यस्तै मोरङ मधु पोखरेल, कलाकार भैरव क्षेत्री, विराटनगरका मैथिली भाषी साहित्यकार रामनारायण सुधाकर, संखुवासभाका मूर्तिकार चन्द्रमान लिंखा, मोरङका संगीतकार जेवी थुलुङ र सुनसरीका कलाकार विष्णुकुमार मोक्तानलाई पनि ५० हजार नगद राशिको प्रदेश साहित्य–कला सम्मान प्रदान गरिएको थियो ।
मन्त्रालयले साहित्यकार बलराम पोखरेलको संयोजकत्वमा ८ सदस्यीय साहित्यकार–कलाकार सम्मान सिफारिस कार्यदल बनाएको थियो । कार्यदलले दिएको सिफारिसका आधारमा मन्त्रालयले सम्मान गरेको हो । कार्यक्रममा सम्मानित साहित्यकार प्रा.डा. न्यौपानेले प्रदेश सरकारले १३ जनालाई मात्रै नभएर आफूले समग्र प्रदेशभरिका स्रष्टालाई सम्मान गरेको महसुस गरेको बताए ।
कार्यक्रममा मन्त्री घिमिरेले नेपाली भाषा संकटमा परेको चर्चा गर्दै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्रदेश सरकार लागिपरेको बताए । उनले यस वर्षदेखि सुरु भएको स्रष्टा सम्मानलाई हरेक वर्ष निरन्तरता दिने उल्लेख गरे । कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद दाहाल, महाशाखा प्रमुख दिव्यराज कट्टेल, कार्यदल सदस्य तथा साहित्यकार मिश्र वैजयन्ती, निर्मला कोइराला, मीनकुमार नवोदितलगायतले प्रदेश सरकारले सुरु गरेको स्रष्टा सम्मानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।