३० असार, काठमाडौँ ।
नेपाली चलचित्रका सदाबहार अभिनेता भुवन केसी र अनमोल केसी एउटै फिल्ममा देखिने भएका छन् । आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भुवन केसीले आफुले र छोरा अनमोलले एउटै फिल्ममा स्क्रिन साझेदारी गर्ने बताएका हुन् । उनले नयाँ चलचित्रमा अनमोलको प्रमुख भुमिका हुने र आफ्नो भिलेनको भुमिका हुने बताएका छन् ।
सधैं सफाचट भएर हिँड्न रुचाउने केसी कार्यक्रममा हल्का फुलेको दाह्री र जुँगामा पुगेका थिए । उनी केही दिनयता फुलेको दाह्री र जुँगामै हिँड्ने गर्छन् । उनले नयाँ फिल्ममा लागि दाह्री नकाटेको बताएका छन् । उनी भन्छन्, ‘धेरैले मलाई दाह्री किन पालेको भनेर सोधिरहेका छन् । म चाँडै नयाँ फिल्ममा अनमोल केसीसँग पूरै नेगेटिभ रोलमा आउँदैछु । यो दाह्री अझै बढाउनु पर्ने छ ।’
गत वर्षको फागुनमा रिलिज भएको फिल्म ‘क्याप्टेन’ पछि उनी फेरि होम प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको केही समयदेखि स्क्रिप्टमा काम चलिरहेको छ । सम्भवतः दशैंपछि फिल्मको छायांकन सुरु हुनेछ । फिल्मलाई उनी आफैंले निर्देशन गर्न सम्भावना प्रवल छ । छोरा अनमोलको करिअर मजबुत बनाउन दिन–रात खटिरहेका उनी करिब ७ वर्षदेखि अभिनयबाट टाढा छन् । उनले यस वर्ष फिल्म अभिनयमा कमब्याक गर्दैछन् । उनले हालै फिल्म ‘मिस्टर नेपाली’को छायांकन भ्याएका छन् । यसमा उनी दोहोरो भूमिकामा छन्, पिता र छोराको । दुईमध्ये एक क्यारेक्टर नेगेटिभ छ । उनी पहिलो पटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् ।
अनमोलले खेलेको फिल्ममा अहिलेसम्म उनले प्रमुख भूमिकामा भने निभाएका छैनन् । अब, पहिलो पटक पर्दामा दुई हिरो र भिलेनको रुपमा प्रस्तुत हुने भएका छन् । फिल्ममा छोरा र पिताको जुगलबन्दी हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।









