३० असार, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन् ।
उनले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसदमा छलफल गरेर अघि बढनुपर्नेमा प्रतिनिधिसभा बैठकनै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप पनि लगाए । सभापति देउवाले सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै बाढी, पहिरो र डुबान पीडितको पक्षमा संसदमा पनि छलफल गरेर अघि बढनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा निन्दा समेत गरे ।
सभापति देउवाले राष्ट्रिय संकटमा बेला संसद बैठकमा सो सम्बन्धमा छलफल गर्ने संचारभरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको दावी पनि गरे ।