३० असार, विराटनगर ।
प्रदेश १ सरकारले प्रदेशमा असल नागरिक उत्पादन गर्ने उदेश्यसहित मंगलबारबाट कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेटेर ‘म अघि बढ्छु’ कार्यक्रम सुरु गर्ने भएको छ । ‘आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार’ भन्ने नारासहित विराटनगरमा कार्यक्रमको शुभारम्भ हुनेछ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशका १४ वटै जिल्लामा एकै साथ कार्यक्रम सुरु हुने जानकारी गराएको छ । प्रदेशको सामाजिक तथा सांस्कृतिक पक्षहरुलाई सुदृढ गर्दै किशोर अवस्थामा प्रवेश गरेका १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सुरु गरिने मन्त्रालयका सचिव भरतमणि रिजालले बताए । उनका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई सक्षम, सवल, जिम्मेवार, चरित्रवान, नैतिकवान, सकारात्मक, सुसंस्कृति तथा उत्तरदायी बनाएर क्षमतामूलक समाज निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले खास गरेर किशोर किशोरीहरुलाई कुलत र दुव्र्यसन मुक्त बनाई सकारात्मक र सृजनशिल बनाउने उदेश्य कार्यक्रमको रहेको बताए । कार्कीले १३ देखि १९ वर्ष उमेर समूहकामा लागुऔषध दुव्र्यसनको डरलाग्दो अवस्था रहेको पनि बताए । २०६८ को जनगणना अनुसार प्रदेश १ को जनसंख्याको करिब ११ प्रतिशत १३–१९ वर्ष उमेर समूहका छन् । यस कार्यक्रमका लागि पहिलो चरणमा २ करोड ५० लाख रुपैयाँ खर्च गर्ने सरकारको तयारी छ । कार्यक्रम बहुवर्षीय अवधिको हुन सक्ने बताइएको छ ।
अभियान अन्तर्गत कक्षा ९ देखि १२ र १३ देखि १९ वर्ष उमेर समूहका सामुदायिक तथा निजी गरी दुई हजार विद्यालयका दुई लाख विद्यार्थीहरु लाभान्वित हुने मन्त्री कार्कीले बताए । अभियानको असार ३१ गते मंगलबार स्थानीय जैन भवनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी विराटनगरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।