३१ असार, विराटनगर ।
गणतन्त्र प्राप्तिको आन्दोलनमा विभिन्न चरणमा घाईते भएका द्वन्द पीडित, अपाङता भएका ब्यक्तिहरुलाई सहभागि गराएर विराटनगरमा कार्यक्रम गरिएको छ । घाईते योद्धा प्रतिष्ठान प्रदेश–१ ले प्रदेश एक भित्रका घाईते योद्धाहरुलाई सहभागि गराएर कार्यक्रम गरेको हो । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको सहयोगमा कार्यक्रम गरिएको हो ।
सो अवसरमा आयोजक प्रतिष्ठानका प्रदेश–१ अध्यक्ष मणिकुमार साम्पाङले घाईते योद्धाहरुको समस्याहरुलाई बहस पैरवी गर्ने उद्धेश्य सहित प्रतिष्ठान गठन गरिएको बताउदै एकढिक्का भएर आफ्ना समस्या राख्ने बिषयमा जोड दिए । उनले प्रदेश १ को १४ जिल्लामै प्रतिष्ठानले शाखा विस्तार गर्ने जानकारी दिए । आयोजक संस्थाका सचिव रामबहादुर कार्कीले प्रदेश १ मा ५ सय बढी घाइते रहेको बताए । उनले घाइतेमध्ये कतिपयलाई निरन्तर उपचारको आवश्यकता रहेको जानकारी दिए ।
सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले संबिधानको प्रस्तावनामैं नेपालको आर्थिक र सामाजिक ढांचा समाजबाद उन्मुख हुनेछ भनेर अकाट्यरुपमा उल्लेख गरिएको चर्चा गदै त्यो उपलब्धि आन्दोलनमा योगदान दिने सबैको साझा उपलब्धि रहेको विचार ब्यक्त गरे । उनले अब राजनितिक लडाईको बेला सकिएको बताउंदै अब देशलाई समृद्ध बनाउन सबै पक्ष सृजनशिल क्षेत्रमा लाग्नुपर्ने बताए । मन्त्री घिमिरेले आन्दोलनमा घाईते भएर अपाङता वरण गरेका ब्यक्तिहरुलाई स्वरोजगारमुलक तालिम दिएर आत्मनिर्भर बनाउन सकिने विचार ब्यक्त गरे । प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले योद्धाहरुको योगदान नसम्झी अघि बढन नसकिने बताउनुहुंदै देश,प्रदेशको समृद्धिका निम्ति अघि बढ्न आग्रह गरे ।