उपप्रमुखसहित नेकपा पक्षधरद्वारा लेटाङको नगरसभा बहिस्कार

उपप्रमुखसहित नेकपा पक्षधरद्वारा लेटाङको नगरसभा बहिस्कार

३१ असार, लेटाङ । उपप्रमुख सहितका नेपाल कम्यूनिष्ट पार्टी पक्षधर जनप्रतिनिधिहरुले मोरङको लेटाङ नगरपालिकाको नगरसभा बहिस्कार गरेका छन् । नगर प्रमुख शंकर राईले उपप्रमुख कृष्णकुमारी निरौलासँग कुनै समन्वय नै नगरी एकलौटी रुपमा मनोमानी तरिकाले बजेट वाँडफाँड गरेको भन्दै नगरका नेकपा पक्षधर जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गरि नगरसभा बहिस्कार गरेको जनाएका छन् ।

पत्रकार सम्मेलनका बोल्दै नगर उपप्रमुख निरौलाले आफुले पटक–पटक नगर प्रमुख राईसँग छलफलका लागि समय माग गर्दा पनि समय नदिएर एकलौटी रुपमा बजेटको योजना बनाएपछि वाध्य भएर नगरसभा वहिस्कार गर्नुपरेको बताइन । उनले प्रेस विज्ञप्ति जारी गर्दै उपप्रमुखलाई कानूनले तोकेको योजना अनुगमन समितिको संयोजकको जिम्मेवारी नदिएर प्रमुखले नै राखेको, राजस्व परापर्श समिति संयोजक रहने उपप्रमुखलाई जानकारी नै नदिने गरेको बताइन् । मेयरले अवण्डा शिर्षकमा ठूलो मात्रामा रकम राखी आफ्ना निकटकालाई प्रदान गर्ने गरेको, मनोमानी रुपमा टुक्रे योजना बनाएको, खोलाजन्य वस्तुको एकलौटी सहमति दिई तोकेभन्दा बढी मात्रामा उत्खनन गर्न लगाएको, बाटो सहितका निर्माण सामग्री खरिदमा सूचना सार्वजनिक नगरी गोप्य रुपमा काम गर्ने गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । मेरो सुविधा कटाइदेउ फुसको छानो हटाईदेउ भन्ने नारा लगाएर गाडी खरिद गर्न पुग्ने रकम बराबर गाडीभाडा खर्च गरेर आफ्ना कुनै सुविधा पनि कटौती नगरी सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण नारा बनाएर नगर भ्रम सिर्जना गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।

नेपाली कांग्रेस पक्षधरको बहुमतको दम्भले मनोमानी काम भएको उपमेयर निरौलाको भनाइ छ । कुल ५० जना जनप्रतिनिधिमध्ये उपप्रमुख निरौला सहित नेकपा पक्षधर २२ जना जनप्रतिनिधिले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । बहिस्कारका बाबजुद उता, नगर प्रमुख राईको अध्यक्षतामा सम्पन्न नगरसभाले आज ५० करोड ८६ लाख ५७ हजार रुपैयाँको बजेट पास गरेको छ । नगर प्रमुख राईले आरोपहरु निराधार भएको भन्दै एक्कासी नगरसभा बहिस्कार गर्नु उचित कदम नभएको टिप्पणी गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.