२ साउन, विराटनगर ।
बाढीको कारण पुल जोखिममा रहेको भन्दै भारतीय प्रशासनले सिमावर्ती जोगबनीमा रहेको मिरगंज पुलबाट ट्रकको आवागमनमा लगाएको रोक फुकुवा गरेको छ । खोलाको जलस्तर घटदै गएपछि पुलबाट मालबाहक ट्रकको आवतजावतमा लगाइएको रोक हटाइएको जनाइएको छ ।
बाढीको कारण पुल भास्सिन सक्ने भन्दै भारतीय प्रशासनले शनिवारयता मालवाहक ट्रकको आवागमनमा रोक लगाएको थियो । विराटनगरस्थित रानी भन्सार नाका भएर आउने मालसामान सोहि पुल पार गरेर आउनुपर्ने भएका कारण शनिवारयता ठूला मालबाहक ट्रक आउन सकेका थिएनन् । जसका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुली समेत प्रभावित भएको थियो ।

शनिवारयता पुलबाट पुरै ठप्प गरिएको ट्रकको आवागमन सोमबारबाटै केहि फुकुवा गरिएको थियो । विराटनगर भन्सार कार्यालयका भंसार अधिकृत मणिराम पौडेलले ४० टन भारवहन गरेका ठूला सवारी साधनमा रोक लगाइएको भएपनि सोमबारबाट मालवाहक गाडी आउन थालेको बताए । दुई वर्ष अघि पनि सो पुल भास्सिएपछि विराटनगरबाट हुने आयात निर्यात ठप्प भएको थियो ।
